उपराष्ट्रपति रामसहाय यादवले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबैलाई जोड्ने काम गरेको बताएका छन् ।सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८१ को अवसरमा शुभकामना सन्देश दिदैँ उनले भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार चाडपर्वहरुमा विविधता रहेको भन्दै सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुगेको बताए ।
सन्देशमा भनिएको छ, ‘हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ । भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार चाडपर्वहरुमा विविधता रहेको पाइन्छ । हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुगेको छ । आपसी द्वन्द्व, द्वेष, राग, वैमनस्यता र उच्छृंखलता बिर्सेर परस्पर खुशी साटासाट गर्न वसन्त पञ्चमीले सबैलाई उत्प्रेरित गर्दै शिक्षा र ज्ञानको सत्यमार्गमा लम्किन सबैलाई हौशला प्राप्त होस् ।’
उनले पछिल्लो समय कृषिमा आधुनिकीकरणका कारण संस्कृति लोपोन्मुख भएको भन्दै यसको जगेर्ना जरुरी रहेको पनि बताए ।
सन्देमा जारी, ‘वसन्त पञ्चमी पर्व माता सरस्वतीको आविर्भाव दिवसका रुपमा पनि मनाइन्छ । श्रीपञ्चमीका रुपमा समेत मनाइने यो पर्व किसानसंग पनि जोडिएको छ । मधेशमा यस अवसरमा हलोको पूजा गर्ने र खेतिकिसानीमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने परम्परा छ । यसले मौलिक संस्कृतिलाई जीवन्त बनाउन सहयोग पुग्दछ । पछिल्लो समय कृषिमा आधुनिकीकरणका कारण यो संस्कृति लोपोन्मुख छ, यसको जगेर्ना जरुरी छ । कृषि क्षेत्र हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो, यो पर्वले हामीलाई कृषि र कृषिकर्ममा लाग्नेहरुप्रति सम्मान प्रकट गर्न प्रेरित गर्दछ ।’
उनले सरस्वतीको प्रतिमाहरु स्थापना भएका स्थानमा भजन–कीर्तन, वसन्त श्रवण र होली–गीतहरुले मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्धनमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।