लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका तामाङ समुदायले विशेष कार्यक्रमका साथ सोनाम ल्होछार (नयाँ वर्ष) मनाउने भएका छन् ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले मञ्जुश्री सम्बत् २८६१ को अवसर पारेर यही फेब्रुअरी २ तारिखका दिन राजधानी लिस्बनस्थित अल्भलादेमा विशेष कार्यक्रमका साथ सोनाम ल्होछार मनाउने भएको हो ।
‘राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा, धर्म संस्कृति हाम्रो पहिचान’भन्ने नाराका साथ बृहत् तामाङ साँस्कृतिक कार्यक्रम तथा सांगीतिक साँझको आयोजना गरेर पोर्चुगलमा सोनाम ल्होछार मनाउन लागिएको घेदुङका अध्यक्ष इमानसिंह तामाङले जानकारी दिए ।
तामाङ जातिको कला, भाषा, धर्म र संस्कृतिको प्रबद्र्धन र जगेर्ना गर्ने उद्धेश्यका साथ पूरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागत स्वरुप ल्होछार मनाउन लागिएको तामाङले बताए । तामाङ अक्षयकोषको स्थापना गर्ने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रममा तामाङ समुदायको सँस्कृति झल्कने विशेष साँस्कृतिक झलक प्रस्तुत गरिने घेदुङले जनाएको छ । सो अवसरमा लामागुरुबाट विशेष पूजापाठ समेत गरिने बताइएको छ ।
कार्यक्रममा चर्चित मेन्दोमाया तथा तामाङ सेलो गायिका रमिला पाख्रिन, सेलो गायक प्रदिप लामा र गायक कुमार योञ्जनको विशेष प्रस्तुति रहनेछ । भने अन्य राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा सहभागी हुन पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्था, समाजसेवी, व्यवसायी तथा पोर्चुगलबासी नेपाली समुदायलाई घेदुङले बिशेष आग्रह समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here