व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहले सेवा थालेको साढे दुई वर्ष पुगेको छ । तर, पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।चोभार सुख्खा बन्दरगाह चोभारका स्थानीय गोविन्द थापा सुख्खा बन्दरगाहको सुरुवात गर्दा जति व्यापारीक चहलपहलको अपेक्षा गरिएको थियो त्यो नभएको बताउँछन् ।‘सुख्खा बन्दरगाहको सुरुवात गर्दा जुन व्यापारको अपेक्षा गरिएको थियो त्यो चाहिँ भएको छैन । वास्तवमा बन्दरगाह क्षेत्रमा व्यापार बढ्छ भनिएको थियो । तर त्यस्तो छैन । यसरी हेर्दा यो अनावश्यक देखियो,’ उनी भन्छन्, ‘यहाँका मानिसहरुको पहलमा हिमाल सिमेन्ट पनि सकारात्मक नभएको भन्दै हटाइरहँदा सरकारले सुख्खा बन्दरगाह ल्यायो । त्यो पनि अध्ययन नै नगरी । हिजोआज यहाँ दुईवटा गाडी मात्र आउँछन् ।’हाल सुख्खा बन्दरगाहमा दैनिक दुईवटा कन्टेनर मात्र भन्सार जाँचपासका लागि आइपुग्छन । नेपाल ईन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दरगाहको भन्सारतर्फको ट्राफिक कम हुनुको मुख्य कारण काठमाडौं–तराई फास्ट ट्रयाकको निर्माण ढिलाइ हो । यद्यपि, चीनको तातोपानी र रसुवा नाकाबाट सिधै चोभार सुख्खा बन्दरगाहमा भन्सार गराउने सुविधा सुरु भइसकेको छ । उनले भने, ‘फास्ट ट्रयाक सम्पन्न भएपछि यहाँको ट्राफिक दोब्बरले बढ्नेछ ।’कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहको मुख्य व्यापार लजिस्टिक हब भएको बताए । गजुरेलले भने, ‘चोभार सुख्खा बन्दरगाहमा संचालनमा ल्याइएको लजिस्टिक हबले व्यापार सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । लजिस्टिक हबमार्फत  प्रोसेसिङ, प्याकेजिङ र लेबलिङको सुविधा हामीले उपलब्ध गराएका छौं, जसले व्यापारलाई चलायमान बनाएको छ ।’गजुरेलले सुख्खा बन्दरगाहलाई निजी क्षेत्रले संचालनमा ल्याएपछि सेवा र आम्दानीमा सुधार आएको बताए । ‘निजी क्षेत्रले वार्षिक तीन करोड रुपैयाँ न्यूनतम राजस्व दिन्छ । ट्राफिक बढेसँगै अबको पाँच वर्षमा ८–१० करोड रुपैयाँ आम्दानी गर्न सकिने देखिएको छ,’ उनले थपे ।आगामी दिनमा सुख्खा बन्दरगाहको क्षमताले नपुग्ने अवस्था आउन सक्ने भन्दै गजुरेलले हिमाल सिमेन्टको सातसय रोपनी जग्गामध्ये तीन सय रोपनी बन्दरगाहको विस्तारका लागि माग गरिएको बताए ।‘भोलिको दिनमा फास्ट ट्रयाक सम्पन्न भइसक्दा सुख्खा बनदरगाहको क्षमताले भ्याउँदैन । हामी अहिले त्यसको तयारीतिर लागेका छौं,’ उनले भने, ‘यो कुरा मैले मन्त्रालयमा मन्त्रीज्यू, सचिवज्यूसँग छलफल गरिसकेको छु । हिमाल सिमेन्टको सात सय रोपनी जग्गा छ त्यसमा तीन सय रोपनी जग्गा चोभार सुख्खा बन्दरगाहलाई नयाँ संरचना बनाउनका लागि एलोकेट गरिदन पर्यो भनेर प्रस्ताव राखिसकेको छु । यसमा मन्त्रीज्यूहरु सकारात्मक नै हुनुहुन्छ ।’ चालू आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहमा ३९ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागका निर्देशक मुक्ति प्रसाद श्रेष्ठले जानकारी दिए ।उनले भने,‘यो आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहमा ३९ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको छ । यो आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहको राजस्व संकलन लक्ष्य २७ करोड ९३ लाख एक हजार रहेकोमा ३३ करोड ७२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।’विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको बन्दरगाह काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि संचालनमा ल्याइएको हो ।दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक वा कन्टेनर पार्किङ गर्ने क्षमता छ । तर काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना भने न्यून देखिएको स्थानीयको बुझाइ छ ।

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here