राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेका मुख्य राजनीतिक दलले देश बिगारेको आरोप लगाएका छन् ।भक्तपुरको मध्यपुर थिमिमा सम्पन्न भएको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा परियारले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल सिद्धान्त बमोजिम नचलेको हुनाले देश अहिलेको अवस्थामा पुगेको बताएका हुन् ।‘नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाले देखाएको बाटो हिँडेको भए नेपाली युवाहरु बेरोजगार भएर विदेशिनु पर्ने थिएन । मदन भण्डारीले देखाएको जनताको बहुुदलीय जनवाद (जबज) नेकपा एमालेले लागू गरेको भए नेपालमा कुशासन, भ्रष्टाचार र विकृतिले जरो गाड्ने थिएन,’परियारको तर्क थियो ।

पुरानो दलले सिद्धान्ततः काम नगरेको भएर प्राकृतिक नियम बमोजिम नेपालमा वैकल्पिक शक्तिको रुपमा नातावाद, कृपावाद र परिवारवाद भन्दा माथि उठेर रास्वपा अस्तित्वमा आएको उनको दाबी छ ।

त्यस्तै, रास्वपाका केन्द्रीय उपसभापति तथा पूर्वमन्त्री डिपी अर्यालले नेपालमा वैकल्पिक राजनीतिक शक्ति र नयाँ सोच भएका युवाहरुलाई प्रहार भइरहेकोमा सचेत हुन आग्रह गरे । पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधको लागि अनावश्यक रुपमा दुःख दिएको उनको आरोप थियो ।

थिमिको निगुपुखू (दुईपोखरी) क्षेत्रमा सम्पन्न भएको कार्यक्रममा संसदीय दलका उपनेता तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले पार्टीका नेता कार्यकर्ताहरु ढुङ्गामुढा नगरिकन राजनीतिमा आएको बताए । पार्टी सभापतिलाई सरकारले साँधेको प्रतिशोधप्रति सचेत रहन आह्वान गर्दै निरन्तर शान्तिपूर्ण बाटोमार्फत भ्रष्टाचार र कुशासनको विरोध गर्न श्रेष्ठले आग्रह गरे ।

कार्यक्रममा संस्कृति, सामाजिक र साहित्यिक क्षेत्रमा योगदान गरेका गणेशराम लाछि र जिवित सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई सम्मान गरिएको थियो । रुकेश रंजितले सञ्चालन गरेको उद्घाटन सत्रमा रास्वपा मध्यपुर थिमि नगर सभापति न्हुछेरत्न मानन्धर, प्रमिला कुलुजु, कुशुम महर्जन तथा रामेश्वर बस्नेत लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

शंखधर चोकबाट ¥याली गरेर निगुपुखू क्षेत्र पुगेर सम्पन्न गरेको जिल्ला भेलाको उद्घाटन पश्चात् सुरु हुने बन्दसत्रले राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्लाको नयाँ कार्यसमिति चयन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here