विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको छ । शुक्रबार सिंहदरबारमा बसेको उक्त बैठकले ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गरेको हो ।छलफलका क्रममा समिति सभापति तुलसा कुमारी दाहालले बालबालिका सम्बन्धी ऐन २०७५ को कार्यान्वयन मापन सम्बन्धमा स्थलगत भ्रमण गर्ने विषयमा समेत छलफल भएको बताइन् । उनले दुई ठाउँमा स्थानीय भ्रमणको कुरा समेत राखिएको बताइन् ।उनले भनिन्, ‘बालबालिका सम्बन्धी ऐन २०७५ को कार्यान्वयन मापन सम्बन्धमा स्थलगत भ्रमण गर्ने विषयमा छलफल भएको छ । दुई ठाउँमा स्थानीय भ्रमणको कुरा समेत गरेका छौं । कोशी र मधेश प्रदेशमा त्यसैगरी लुम्बिनी र कर्णाली प्रदेशमा अनुगमन गर्ने छौं । त्यसमा तीनवटा विषयवस्तु केन्द्रित रहने छौं । एउटा बालबलिकासँग छुट्टै छलफल गर्छौं । स्थानीय स्तरमा रहेका बाल क्लबमा रहेका बालबालिकाहरुसँग छलफल गर्नेछौं । बाल क्लबमा बालबालिकाको अवस्था के छ भनेर समेत छलफल हुनेछ साथै स्थानीय सरकारसँग पनि यो विषयमा छलफल गर्ने छौं ।’
साथै उनले महिला शिक्षा शाखा र स्थानीय सरकारले बनाएका ऐनका बारेमा समेत मध्यनजर गरेर छलफल गरिने बताइन् । उनले प्रदेश तहमा प्रदेश सरकारले बालबालिका सम्बन्धी कस्तो खालको नीति बनाएको छ र त्यो नीतिको कार्यान्वयनको अवस्था के छ भनेर बाल सहभागिताको विषमा छलफल गरिने समेत बताइन् ।