इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साउथह्याम्प्टनलाई १–० गोल अन्तरले अन्तरले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।पेप गार्डिओलाको टोलीले २३ अंकसहित अग्रता बनाएको छ । जसले लिभरपुललाई दुई र आर्सनललाई छ अंकको अन्तरले पछि पारेको छ । अब आइतबार लिभरपुल र आर्सनलबीचको खेलले लिगको शीर्ष स्थानको तय गर्ने छ ।यो खेलमा सिटीको प्रदर्शन सधैं जस्तो आक्रमक थिएन । सिटीका प्रशिक्षक पेप गार्डिओलाले आफ्ना खेलाडीहरूलाई धैर्य गर्न निर्देशन दिएका थिए । खेलको पाँचौं मिनेटमै एर्लिङ हालान्डले माटेउस नुनेजको पासमा गोल गर्न सफल भए ।हालान्डले गोल गरेर खडेरी अन्त्य गरे पनि उनले थप अवसरहरू चुकाएका थिए ।चोटका कारण सिटीको विकल्पहरू सीमित थिए । जसले गर्दा गार्डिओलासँग आक्रमणमा परिवर्तन गर्न ठूलो विकल्प थिएन । साउथह्याम्प्टनका खेलाडीहरूले विशेषतः एडम ललानाले राम्रो प्रदर्शन गरे पनि म्यानचेस्टर सिटीको बलियो डिफेन्सले उनीलाई मौका दिएन ।सिटीले पहिलो हाफमा केहि अवसरहरू खेर फालेको थियो भने दोस्रो हाफमा साउथह्याम्प्टनका गोलकिपर आरोन राम्सडेलले गोलकिपरबाट खेल सुरु गर्ने प्रयास गर्दा खतरामा परेका थिए । तर टेलर हारवुड–बेलिसको उत्कृष्ट ब्लकले खतरा टारे ।खेलमा साउथह्याम्प्टनका क्यामरुन आर्चरको प्रयास बारमा लागेर बाहिर गयो भने सिटीका फिल फोडेनको प्रयास पनि गोलपोस्टको छेउबाट बाहिरियो ।








