नेपालीहरूको महान् चाड तिहारको अवसरमा, परदेशमा रहेका दाजुभाइ र दिदीबहिनीको भावनात्मक कथा समेटेर म्यूजिकल फिल्म ‘रमाइलो तिहार’ निर्माण गरिएको छ ।

यस फिल्मले विशेष रूपमा विदेशमा रहेका नेपालीहरूको संस्कृतिक, पारिवारिक सम्बन्ध, र चाडपर्वमा घरको सम्झना झल्काउँछ। लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टिका र मखमली माला लगाइ दिर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयता यसमा देखाइएको छ। भाइले आफ्नो पोडकास्टमा दिदीलाई अतिथि बनाउँदा, उनले गरेको एउटा गम्भीर प्रश्नले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको वेदनालाई उजागर गर्छ, जसले वर्तमान सामाजिक संरचना र प्रवृत्तिलाई पनि औंल्याउँछ ।

यस फिल्मका निर्देशक जोयस पाण्डे नेपाली चलचित्र उद्योगमा अग्रणी नाम हुन्, जसले साँघुरोे चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रमा नयाँ दृष्टिकोण स्थापित गरेका थिए। दशकपछि उनले तिहारको पारिवारिक र सांस्कृतिक सन्देशलाई म्यूजिकल शैलीमा प्रस्तुत गर्दै रमाइलो तिहार निर्देशन गरेका छन् ।

म्यूजिकल फिल्ममा प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत रहेको छ । अमेरिकामा ह्यप्पी होम स्टुडियोजको निर्माणमा बनेको यस फिल्मको सम्पूर्ण छायांकन अमेरिका मै गरिएको हो। मुख्य कलाकारहरूमा पूजा चन्द, राज वल्लभ कोइराला, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दिलिप श्रेष्ठ, अपार श्रेष्ठ आदि छन्। समीर रेग्मीलाई यस फिल्ममा नेपाली कला र संस्कृति प्रति समर्पित पात्रको रूपमा देखाइएको छ। ताइवानका चिनइन गावोले यसको छायांकन गरेका छन् भने, नेपालको ख्यातिप्राप्त सम्पादक निशान घिमिरेले सम्पादन गरेका छन् ।

रमाइलो तिहार नेपाली परम्परागत चाडपर्वको महत्त्वलाई वैश्विक स्तरमा पुर्याउने उद्देश्यका साथ बनेको म्यूजिकल फिल्म हो, जसले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न ठूलो योगदान पुर्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here