दाङ,५ साउन |

ऋणको भारीले थिचिंदै गएपछि दाङ बबई–७ की ३२ वर्षीया लुम्बिनी–१ (परिवर्तित नाम) विदेशिने सोचमा पुगिन् । उनलाई यो सोच बनाउन गाउँकै मामा नाता पर्ने जीतबहादुर थापाले सघाए । भारत ओहोर–दोहोर गरिरहने थापाले लुम्बिनी–१ लाई फ्रि भिसा, फ्रि टिकटमा विदेश जान पाइने र कमाइ पनि राम्रो हुने भनेर लोभ्याए । भने जस्तै सहयोग पनि गरे थापाले । पासपोर्ट बनाउँदा र विदेश जान लाग्ने सबै खर्च उनैले व्यहोरे । घरेलु कामदारमा मासिक ६० हजारसम्म कमाइ हुन्छ भनेपछि मामा नाता पर्ने थापाको विश्वासमा विदेश उड्न तयार भइन्, लुम्बिनी–१ ।जीतबहादुरले उनलाई रामेछापका रमेश पाण्डे भन्ने अर्का एजेन्टसँग भेट गराए । पाण्डेले उनलाई नेपालगञ्ज नाकाहुँदै भारत पुर्‍याए । त्यसपछि दिल्ली हुँदै २०७७ चैतमा लुम्बिनी–१ कुवेत पुगिन् । केही दिन एउटा कोठामा राखेर लुम्बिनी–१ लाई स्थानीयको घरमा काम गर्न पठाइयो ।

पुगेकै दिनदेखि उनका कहाली लाग्दा क्षण सुरु भए । बिहान ७ बजेदेखि राति २ बजेसम्म गर्दा पनि नसकिने काम थियो घरमा । दैनिक १८ घण्टा काम गर्दा पनि मालिक खुसी हुँदैनथे । केही दिनपछि त स–सानो बहानामा नै कुट्न, पिट्न थाले ।‘सुरुमा भाषा नबुझेर के गरौं, कसो गरौं हुन्थ्यो । एक थोक भनेको मैले अर्कोथोक बुझ्दा कुट्ने, पिट्ने गर्थे’ लुम्बिनी–१ ले भनिन्, ‘विस्तारै यातनाले शरीरभरि नीलडाम र घाउ नै घाउ हुन थाल्यो ।’अरबीको छोरा बेला बखत नराम्रो व्यवहार गथ्र्यो । हुँदाहुँदा एकदिन घरमा कोही नभएको मौका छोपेर उसले जबरजस्ती गर्‍यो । ‘यस्तो काम तीन महिनासम्म चल्यो’ लुम्बिनी–१ ले भनिन्, ‘त्यसपछि मैले घर पठाइदेऊ भनेर रोइ–कराइ गर्न थालें । तर, उनीहरूले मानेनन्, उल्टो मारेर फालिदिन्छु भनेर मलाई धम्काए ।’लुम्बिनी–१ भन्छिन्, मेरो मोबाइल खोसेर राखेका थिए । एकदिन धेरै रोइकराइ गरेपछि दिए । त्यसपछि नेपालमा माइतमा फोन गरेर उद्धार गर्न भनें । परिवारको पहलमा २०७८ मंसिरमा म स्वदेश फर्कन पाएँ ।’ उनी भन्छिन्, ‘त्यो नर्कबाट म बाँचेर फर्किन्छु भन्ने लागेकै थिएन । परिवारले मलाई बचाएर फर्कायो, मैले दोस्रो जीवन पाएँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here