काठमाडौं

दक्षिण अमेरिकी देश भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो विजयी भएपछि सुरु भएको विरोध प्रदर्शन थप चर्किएको छ । प्रदर्शनमा अहिलेसम्म ११ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।विपक्षी नेताहरुले नतिजा धाँधली भएको आरोप लगाएपछि जनता सडकमा उत्रिएका छन् । सीएनएनका अनुसार हजारौं भीडले देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिरहेका छन् । धेरै ठाउँमा आगजनी समेत भएको छ । राजधानी काराकसस्थित राष्ट्रपति भवनमा हजारौं मानिस पुगेका छन् ।केही प्रदर्शनकारीले राष्ट्रपति भवनतर्फ जान खोज्दा प्रहरीले रबरको गोली प्रहार गर्नुका साथै प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो । राजधानीबाट ४०० किलोमिटर टाढा रहेको कुमानामा रहेको मदुरोको युनाइटेड सोसलिस्ट पार्टीको कार्यालयलाई धेरैले कब्जा गर्ने प्रयास गरे पनि सेनाले त्यसलाई असफल बनाएको छ ।भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जित हुने भविष्यवाणी गरेका थिए । तर, चुनावको नतिजा उल्टो आयो । निकोलस मादुरोले चुनाव जिते पछि विपक्षीले यो नतिजा अस्वीकार गरेका छन् । निर्वाचन आयोगले नतिजामा धाँधली गरेको विपक्षी दलको दाबी छ ।चुनावी नतिजा अनुसार राष्ट्रपति निकोलस मादुरोले ५१.२ प्रतिशत मत पाएका छन् भने विपक्षी नेता गोन्जालेजले ४४.२ प्रतिशत मत पाएका छन् । मादुरोको जितपछि विपक्षी र जनता आक्रोशित भएका छन् । सडकमा उत्रिएका प्रदर्शनकारीले निकोलस मादुरोको ब्यानर च्यातेका थिए ।उनीहरूले मादुरोभन्दा अगाडि राष्ट्रपति भएका ह्युगो चाभेजका धेरै मूर्तिहरू ढालेका छन् ।ह्युगो चाभेजले एक दशकभन्दा बढी समय भेनेजुएलाको नेतृत्व गरे र निकोलस मादुरोलाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गरे । मदुरो विगत ११ वर्षदेखि सत्तामा छन् । हालैको निर्वाचनमा विजयी भएपछि मादुरो अब २०२५ देखि २०३० सम्म सत्तामा रहनेछन् ।सोमबार टेलिभिजन सम्बोधनमा राष्ट्रपति मादुरोले भेनेजुएलामा ‘कु’को प्रयास भइरहेको दाबी गर्दै विपक्षीको योजना सफल हुन नदिने बताए ।सीएनएनका अनुसार भेनेजुएला धेरै वर्षदेखि आर्थिक संकटको सामना गरिरहेको छ । अमेरिका र पश्चिमी मुलुकले लगाएको नाकाबन्दीका कारण तेलका लागि चर्चित यो देश विश्वमा एक्लो बन्दै गएको छ ।विपक्षी दलहरूले निकोलस मादुरोलाई हटाउन गोन्जालेजसँग एकता गरेका थिए । सोमबार साँझ पत्रकार सम्मेलनमा विपक्षी नेता मारिया मचाडोले आफ्नो गठबन्धनलाई सार्वजनिक समर्थन रहेको दाबी गरिन् । सत्तारुढ दलले चुनावमा धाँधली गरेको कारण एडमन्डो गोन्जालेजले जित्न सकेनन् । मचाडो भेनेजुएलामा विपक्षी गठबन्धनका वरिष्ठ नेता हुन् । तर, सर्वोच्चको प्रतिबन्धका कारण उनले चुनाव लड्न पाएनन् । यसपछि उनले गोन्जालेजलाई आफ्नो समर्थन दिएका थिए ।नतिजा सार्वजनिक भएपछि गोन्जालेजले भेनेजुएलामा के भयो भनेर देश मात्र नभई सारा विश्वलाई थाहा भएको टिप्पणी गरेका छन् । उनले निर्वाचन परिणाममा अनियमितता भएको बताउँदै हिंसात्मक भन्दा पनि शान्तिपूर्ण प्रदर्शन गर्न आफ्ना समर्थकलाई आग्रह गरेका छन् ।उता, मदुरोको जितमा अमेरिकाले चुनावी नतिजामा विश्वास नगर्ने बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिन्ता व्यक्त गर्दै यो नतिजाले भेनेजुएलाका जनताको मनस्थितिलाई प्रतिबिम्बित नगर्ने बताए ।त्यसैगरी, संयुक्त राष्ट्र संघ र युरोपेली संघ लगायत धेरै देशले भेनेजुएलामा पारदर्शी ढंगले नतिजा जारी गर्न माग गरेका छन् । उनले प्रत्येक मतदान केन्द्रको मतदान अभिलेख सार्वजनिक गर्न निर्वाचन अधिकृतलाई अपिल गरेका छन् ।निकोलस मादुरोलाई चीन, रुस र क्युवाजस्ता साथी राष्ट्रहरूको भने समर्थन प्राप्त छ । उनले राष्ट्रपतिलाई लगातार तेस्रो जित हासिल गरेकोमा बधाई दिएका छन् । तर, छिमेकी मुलुकले त्यसो गरेका छैनन् । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा र कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अहिलेसम्म बधाई पनि दिएका छैनन् । यी दुवै देशमा भेनेजुएला जस्ता वामपन्थी विचारधाराका सरकारहरू छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here