जनकपुरधाम,२३ जेठ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनु अगाडि नै नयाँ सरकार गठनको आह्वान गर्न विपक्षी दलहरूले प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।आज बिहान कांग्रेस, माओवादी केन्द्र सहितका दलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न भनेका हुन् । प्रदेश प्रमुख सुवेदीले भने यस विषयमा परामर्श गरेर निर्णय लिने बताएको भेटमा सहभागी एक नेताले बताए ।मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छन् । तर विपक्षी दलहरूले भने मुख्यमन्त्री यादवले विश्वासको मत लिने ३० दिनको म्याद गुजारिसकेको दाबी गर्दै प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको आह्वान गर्न अनुरोध गरेका छन् ।मधेशमा जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्य गर्दै आएका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलका नेताहरूले आज प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग छलफल गरेका थिए ।मुख्यमन्त्री यादवको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल गत वैशाख २३ गते केन्द्रमा विभाजन भएको थियो । त्यसबाट फुटेको अशोककुमार राई नेतृत्वको जसपालाई २४ वैशाखमा निर्वाचन आयोगले मान्यता दिएको थियो । वैशाखको महिना ३१ को भएकाले जेठ २२ राति १२ बजेसम्म ३० दिनको समय मुख्यमन्त्री यादवले गुजारेको विपक्षी गठबन्धनको तर्क छ ।
जनमत पार्टीका केन्द्रीय सचिव बीपी साह विश्वासको मत लिनुपर्ने म्याद मुख्यमन्त्रीले गुजारिसकेकाले उनी स्वतः पदमुक्त भएको तर्क गर्दै अब नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने बताउँछन् । ‘गएराति १२ बजे उहाँ पदमुक्त भइसक्नु भयो । तर अहिलेसम्म पदमा रहनु गैरसंवैधानिक हो,’ साह भन्छन्, ‘यो विषयमा प्रदेश प्रमुखले आफ्नो अधिकार र स्वविवेक प्रयोग गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’जसपा नेपालका प्रदेश सांसद राजुप्रसाद गुप्ता भने पार्टी विभाजनविरुद्ध सर्वोच्चमा परेको रिटमा तत्काल केही नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी भएकाले पार्टी विभाजन अनुसार नभई एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएको दिनको हिसाबले विश्वासको मत लिन लागेको बताए । एमाले र माओवादी केन्द्रले गत वैशाख ३० गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएका थिए ।केन्द्रमा जसपा नेपाल फुटे पनि मधेश प्रदेशमा भने फुटिसकेको छैन । प्रदेशमा औपचारिक रूपमा पार्टी फुट्न सम्बन्धित दलका सांसदहरूलाई कुन दल रोज्ने भन्ने मौका दिइन्छ । उनीहरूले दल रोजिसकेपछि मात्र विभाजन भएको मानिन्छ । मधेशमा यो प्रक्रिया पूरा हुन बाँकी छ ।
मधेश प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा बुधबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने उल्लेख छ ।प्रदेश सभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले सभामुखको निर्देशन बमोजिम आफूहरूले सूचना जारी गरेको बताए । ‘बैठकको मिति तोक्ने सभामुखको अधिकारको कुरा हो, उताबाट जे भनेर आयो, हामीले त्यही अनुसार गरेका हौं,’ ठाकुरले अनलाइनखबरसँग भने ।अधिवक्ता सुदीप कोइराला संविधानमा विश्वासको मत लिने म्याद गुजारेमा मुख्यमन्त्रीको पद के हुने भन्ने स्पष्ट व्यवस्था नभएकाले विपक्षी दलहरूले भनेजस्तो मुख्यमन्त्री पदमुक्त नभइसकेको बताउँछन् । यस्तो अवस्थामा प्रदेश प्रमुखले स्वविवेक प्रयोग गर्नुपर्ने उनको मत छ । ‘३० दिन भित्र विश्वासको मतको लागि प्रदेश सभामा प्रस्ताव पेस नगरे मुख्यमन्त्रीको पद के हुने भन्ने प्रष्ट व्यवस्था संविधानमा छैन । त्यसले यो अवस्थामा प्रदेश प्रमुखले नै स्वविवेक प्रयोग गर्नुपर्छ’ उनले भने ।








