कैलाली, २६ चैत |
सुदूरपश्चिमवासीले मनाउँदै आएको विषु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरु यतिबेला घर फर्कन थालेका छन् ।कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ ।हेल्प डेस्कका अनुसार भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्लीलगायतका विभिन्न सहरबाट पछिल्लो समय झण्डै तीन हजार नेपाली भित्रिएका छन् । जसमध्ये मङ्गलबारदेखि हिजो आइतबारसम्म दुई हजार छ सय ७७ नेपाली फर्किएका छन् ।चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीहरुको सङ्ख्या बढ्न थालेको हुन् । अन्य विदेशी मुलुक जान बढी खर्च लाग्ने, भिसाको आवश्यकतापर्ने लगायतका विविध कारणले पनि धेरैजसो यहाँका नेपालीहरु रोजगारीका लागि भारत जाने गरेका हुन्छन् ।लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आउनुभएका डोटीको आदर्श गाउँपालिकाका रमेश साउदले विषु पर्व मनाउनकै लागि घर फर्केको बताउनुभयो । “विषु पर्व अर्थात् नयाँसालमा परिवारका सदस्यबीच एकसाथ भेटघाट हुने र मिठामिठा स्थानीय खानाका परिकार खाई रमाइलो गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “यो पर्व परिवारसँग मनाउँदा घर बाहिर लामो समयसम्म एक्लो भएर बस्नुपरेको अवस्थाको अन्त्य गराउँछ ।
खेतीपाती भित्र्याउँने समय भएको र विषु पर्व पनि आइरहेकाले आफू भारतको पञ्चाबबाट आएको कैलालीको धनगढीका नारद आउजीको भनाइ छ । यसरी छिमेकी मुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् ।खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने गरिएको पाइन्छ । खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि विशेषगरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन् ।सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहरहरुमा जाने गर्दछन् ।बिनाभिसा आवतजावत गर्न र सहजै रोजगारी प्राप्त हुने भएकाले पनि यस क्षेत्रका नेपालीको प्रमुख रोजगारीको गन्तव्य छिमेकी राष्ट्र भारत बन्न पुगेको हो ।








