नवलपुर, ९ पुस |
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृत्युहुनेमा ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल छन् । प्रनाउ पौडेलले स्थानीय खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको बताउनुभयो । प्रनाउ पौडेलकाअनुसार विष्णुको बायाँ कम्मर र मनादेवीको बायाँपट्टि पछाडिको भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो । शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा बाघको आक्रमणबा मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने प्रनाउ पौडेलले बताउनुभयो ।








