खोटाङ, ९ पुस |

दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ । उहाँले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका सामग्री जलेर नष्ट भएको बताउनुभयो ।आफन्तले दिएको ओढ्ने÷ओछ्याउने लिएर मतानमा बास सरिएको आगलागी पीडित रामहादुरले गुनासो गर्नुभयो । “घरमा भएका सम्पूर्ण सामग्री जलेर खरानी भयो । ऋण तिर्न भनेर तयार गरेको रु एक लाख ५० हजार नगदसमेत जल्यो । अहिले बस्ने बासकै टुङ्गो छैन । हामी त जसरी पनि बस्थिम । सुत्केरी बुहारी र नाबालक नातिको विचल्ली भयो ।यसैबीच आगलागीको उच्च जोखिममा रहेको खोटाङमा प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहमा आगलागी नियन्त्रणसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ । अभियानका क्रममा प्रहरीले विद्यालय, हाटबजार, मन्दिरलगायतमा जनचेतनामूलक कार्यक्रम गर्दै आगलागीका घटना हुन नदिन तथा भएमा बच्ने उपायका बारेमा जानकारी दिने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ ।विद्युत् र ग्यासको पहुँच नभएका ग्रामीण बस्तीमा टुकी, अँगेनामा बालिएको आगो ननिभाइ छाड्नु आदि कारणले समेत आगलागी भएको पाइएको प्रहरीले जनाएको छ । बजार क्षेत्रका बस्तीमा भएको आगलागीको मुख्य कारण भने विद्युत्, ग्यास सिलिन्डर पड्कनु, ग्यास चुहावट हुनु र धुप बाल्ने चलनलगायतका कारण रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here