काठमाडौँ, ६ पुस |

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताउनुभएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकामा आज आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान गर्न सरकारले प्रक्रिया सुरु गरिसकेको बताउनुभयो ।किसानका समस्या समाधानमा सरकार गम्भीर भएर लागेको दृष्टान्त दिँदै प्रधानमन्त्री दाहालले केही दिनअघि मात्रै उखु किसानले पाउनुपर्ने ठूलो रकम भुक्तानी गरिएको बताउनुभयो । “उखु किसानको झन्डै रु ५२ करोड बक्यौता तिर्न बाँकी रहेछ । मन्त्रिपरिषद्बाट उक्त रकम भुक्तानीको निर्णय भएको छ । उखुको न्यूनतम् मूल्य पनि निर्धारण गरिएको छ।”एक वर्षको अवधिमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले अर्को वर्ष नयाँ ढङ्गबाट काम गर्ने दृढता व्यक्त गर्नुभयो । “मैले जहिले पनि निरन्तरतामा क्रमभङ्ग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु ।“अब ठीक ढङ्गले काम भएन, आफूले प्रतिबद्धता व्यक्त गरेको काम पनि कतिपय मन्त्रालयले पूरा गरेका छैनन्, त्यस्ता मन्त्रालयहरुलाई पुर्नगठन गरेर, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो । प्रदेशको नामकरणको विषयमा जनताले व्यक्त गरेको चिन्ताका सम्बन्धमा आफू जानकार रहेको उल्लेख गर्दै उहाँले राजनीतिक दल र आन्दोलनरत पक्षसँग छलफल गरेर समस्या समाधान गरिने बताउनुभयो ।युद्धकालमा मिक्लाजुङ मोरङको आधार इलाकाका रुपमा रहेको स्मरण गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रिया प्रवेशका क्रममा ठूलो र ऐतिहासिक प्रशिक्षण यही क्षेत्रमा राखिएको बताउनुभयो । मिक्लाजुङ क्षेत्रमा सडक, खानेपानीलगायत समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here