धनुषा, २ पुस |

सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।आइतबार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको छ । जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ३६ प्रकारका व्यञ्जनसहित भोजन र दक्षिणा दिएर बिदाइ गरिएको छ ।जानकी मन्दिरका छोटे महन्थ रोशण दास ‘वैष्णव’ले रामकलेवाअन्तर्गत आज करिब १० हजार साधुसन्त र श्रद्धालुलाई ३६ व्यञ्जनको भोजन गराइएको जानकारी दिनुभयो । उहाँले अनुसार मिथिला भोजनमा दाल, भात, चार प्रकारका तरकारी, दही, झोरी, बरी, अचार, मिठाईसहित ३६ प्रकारका व्यञ्जन समावेश गरिएको थियो ।

साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणासमेत दिइएको सहायक महन्थ वैष्णवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जन्तीलाई विशेष भोजन र दान दक्षिणा दिएर बिदाइ गर्ने चलन छ । आज त्यो चलनलाई निरन्तरता दिएका छौँ । रू दुई सय देखि रू पाँच सयसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेका हौँ ।भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट हरेक पाँच वर्षमा जन्ती आउने परम्परा रहेको छ । यसवर्ष पनि लाखौँ श्रद्धालु र साधुसन्त विवाह पञ्चमीमा सहभागी भएका जनाइएको छ । एक साता बढीदेखि विवाहपञ्चमीको लागि भरिभराउ जनकपुरधाम गए राति सीताराम विवाह सम्पन्न भए लगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन् ।विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौँथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि, छैँटौँ दिन स्वयंवर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन आज सोमबार रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here