दमौली (तनहुँ), २ पुस |

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित माहेन्द्री माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्णमहोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले समयसापेक्षरुपमा शिक्षा नीति परिवर्तन हुनुपर्ने बताउनुभयो ।आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्छ । देशभरका समुदायिक विद्यालयको अवस्था कमजोर बन्दै गइरहेकाले समयको माग अनुसार नै शैक्षिक तथा भौतिक पूर्वाधार बनाउनुपर्छ ।” उहाँले प्रदेश सरकारले स्रोत, साधनको अधिकतम परिचालन गरी जनताका आवश्यकता पूर्तिका लागि योजना ल्याएको बताउनुभयो ।विगतका बजेटमा भएका फजुल खर्च कटौती गरी अहिलेको बजेट प्रतिफल र उत्पादकत्व वृद्धि गराउने क्षेत्रमा बढी परिचालन गरेका छौँ”, मन्त्री आलेले भन्नुभयो, “आगामी बजेटमा यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने तयारी गरिरहेका छौँ ।” उहाँले ‘योजना बैङ्क’ बनाएर सङ्घ, प्रदेश र स्थानीय तहले सम्पन्न गर्ने योजना नदोहोरिने गरी काम अगाडि बढाइने जानकारी दिनुभयो ।

गण्डकी प्रदेशसभाका पूर्व सदस्य सरिता गुरुङले माहेन्द्रीमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र सकारात्मक शैक्षिक वातावरण बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले माहेन्द्री यस क्षेत्रको अग्रणी शैक्षिक संस्था भएकाले यसको भौतिक संरचनासँगै शैक्षिक गुणस्तरका लागि सबैको एकता आवश्यक रहेको बताउनुभयो ।व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भौतिक सुधारमा उल्लेखनीय काम भएको बताउनुभयो । अबका दिनमा शैक्षिक गुणस्तर हासिल गर्न सक्नु विद्यालयको प्रमुख चुनौतीका रुपमा देखिएको उहाँको भनाइ थियो ।‘स्वर्ण जयन्ती वर्ष’का रुपमा मनाउँदै एक वर्षसम्म विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ । आज प्रारम्भ भएको स्वर्ण जयन्तीको कार्यक्रम विसं २०८१ पुस १ गते विशेष समारोहको आयोजना गरी सम्पन्न गरिने विद्यालयले जनाएको छ ।

स्वर्ण जयन्ती स्तम्भ शिलान्यास

आजको कार्यक्रममा विद्यालयको स्वर्ण जयन्ती स्तम्भ शिलान्यास गरिएको छ । पूर्व विद्यार्थी समाजको सक्रियतामा निर्माण हुने उक्त स्तम्भको मन्त्री आलेले शिलान्यास गर्नुभयो ।विद्यालयमा विभिन्न समयमा अध्ययन गरेका विद्यार्थीहरुबाट आर्थिक सङ्कलन गरी स्वर्ण जयन्ती स्तम्भ निर्माण गर्न लागिएको पूर्व विद्यार्थी समाज माहेन्द्री माविका अध्यक्ष उद्धवराज कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार समाजले विद्यालयको मूल प्रवेशद्वार निर्माणका लागि पनि सहयोग गर्नेछ ।विद्यालयको प्रवेशद्वार साँघुरो र जीर्ण भएकाले यसको पुनःनिर्माणका लागि पूर्व विद्यार्थी समाजले सहयोग गर्ने कट्टेलले बताउनुभयो । विद्यालयको इतिहास झल्किने गरी प्रकाशन गर्न लागिएको स्वर्ण महोत्सव स्मारिकाको सम्पूर्ण प्रकाशन खर्च पनि समाजले बेहार्ने उहाँले जानकारी दिनुभयो ।प्रवेशद्वार निर्माण र स्मारिका प्रकाशनका लागि करिब रू १२ लाख लाग्ने अनुमान गरिएको अर्थ सङ्कलन समितिका संयोजक भक्तबहादुर गोदारले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म रू आठ लाख ८५ हजार सात सय ८५ सङ्कलन भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here