Print

धनुषा, २९ मङ्सिर |

धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृत्यु हुनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । उहाँका अनुसार सोही मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका–१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन् ।सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको न्यूरो अस्पताल सिफारिस गरिएको अवालेले जानकारी दिनुभयो । आज बिहान जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

पाँच वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

धनुषामा पाँच वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा पाँच वर्षीया बालिकाको जबर्जस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिनुभयो । पाँच वर्षीया बालिका रेखा यादवलाई जबर्जस्ती करणी गरेर घाँटी थिची हत्या गरेर खाल्डोमा फालेको अवस्थामा बिहीबार राति शव फेला परेको उहाँको भनाइ थियो ।बुधबार राति करिब ९ बजे गाउँकै कुनै छिमेकीको मटकोरमा गएकी बालिका अबेर रातिसम्म घर नफर्केपछि बालिकाका अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए । बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार राति सबैला–९ स्थित खाल्डोमा ती बालिकाको शव फेला पारेको प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिनुभयो ।अनुसन्धानका क्रममा घटनामा संलग्न दुईजना युवकलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूकै संलग्नतामा ती बालिकालाई बलात्कारपश्चात घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनाको नाम प्रहरीले गोप्य राखे पनि उनीहरू क्रमशः ३६ र २५ वर्षका स्थानीय युवक रहेको बताइएको छ ।उनीहरूमाथि जबर्जस्ती करणी तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here