भजनी, २ असार (रासस) |
कैलालीको टीकापुर नगरपालिका–१ विपतपुरका स्थानीय कुलोमा पानी आएपछि निकै खुसी छन् । राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले बन्द भएको विपतपुर, राजिपुर सिँचाइ कुलोलाई पुनः सञ्चालनमा ल्याएपछि उनीहरु खुसी हुन् । उसो त आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन हो ।“सदियाँैदेखिको परम्परागत सिँचाइ प्रणाली हाम्रा लागि समाप्त भएको छ । वर्षौंदेखि अरुको कुलोको भरोसामा कृषि गर्दै आएका किसानलाई कसैको भर पर्नुपर्ने अवस्था अब रहेन । आयोजनाले गत जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, उपशाखा नहर हुँदै पानी किसानको खेत खेतमा पुगेपछि किसानले खुसी व्यक्त गरेका छन् । किसानले शाखा नहरमा पानी पुगेपछि विधिपूर्वक पूजा गरेर नहर सञ्चालन गरेका छन् । आर्थिक वर्ष २०६७÷६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरे पनि सञ्चालनमा ल्याउन सकेको थिएन ।
पटकपटक मूल नहर सञ्चालनको लागि आयोजनाले तयारी गरे पनि बर्सातको समयमा आउने बाढीले नहरमा क्षति पु¥याउने भएपछि मूल नहर सञ्चालनमा ढिलाइ भएको आयोजना प्रमुख केदार श्रेष्ठले बताउनुभएको छ । यस पटक मूल नहरबाट पानी ल्याई तीनवटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको श्रेष्ठले जानकारी दिनुभयो । त्यो पानीले १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुनेछ । “हामीले मूल नहरबाट पानी छोडेर किसानको खेतसम्म तीनवटै शाखा कुला र उपशाखा कुलाबाट पुर्याएका छौँ” पुरानो प्रणालीबाट पानी आइरहेका रानी, जमरा र कुलरिया कुलाका मुहान बन्द गरिएको छ । अब नियन्त्रितरुपमा किसानको आवश्यकता आधारमा आयोजनाबाट पानी खेतसम्म पुग्नेछ । यसबाट किसानको खेतमा हुने सिँचाइ प्रणालीमा सहज हुनेछ । यसअघि कर्णाली नदीबाट अस्थायी मुहान निर्माण गर्दै वर्षेनी रानी जमरा र कुलरिया नदीमा पानी ल्याउने गरिन्थ्यो । पुरानो मुहानबाट पानी ल्याउँदा अनियन्त्रित भई कटान हुने, कुलाका संरचना फुट्ने र बर्सातको समयमा बाढी र डुबानजस्ता समस्या किसानले झेल्दै आएका थिए ।हरेक वर्ष कुलाको मुहान खन्न हजारौँ किसानले काम गर्नुपर्ने बाध्यता थियो । किसानले वर्षमा दुईपटक कुला खन्न जानुपर्थ्यो । हिउँदे खेती लगाउने समयमा र वर्षे खेती लगाउने समयमा करिब एक महिना किसानको कुला खन्न लाग्ने गरेको स्थानीय छेलु चौधरी बताउनुहुन्छ । “आयोजना सञ्चालन भएपछि बनाइएका संरचनाबाट आवश्यकताको आधारमा पानी ल्याउन सजिलो हुनेछ । जतिबेला आवश्यक प¥यो त्यहीँअनुसार पानीको व्यवस्थापन गर्न सकिने भएको छ हाम्रो खेतसम्म पानी पुगिसकेको छ, अब किसानलाई सिँचाइका लागि सहज हुन्छ । खडेरीका कारण सिँचाइको सहजता नहुँदा हुन नसकेका रोपाइँ अब हुन्छन् ।”
झण्डै ३८ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य आयोजनाको रहेको छ । यसअघि कर्णाली नदीबाट किसानको खेतमा पानी ल्याउन बनाइएको अस्थायी मुहानले बर्सेनि समस्या हुने गरेको थियो । कर्णालीमा बाढी बढेका बेला नदीबाट बाढी आएर खेत डुबाउँथ्यो भने बाढी घटेपछि कुलामा पानी सुकेर धान खेतीलाई पर्याप्त पानी पुग्दैनथ्यो । मूल नहरबाट पानी आएपछि किसान ढुक्क भएका छन् । जमरा कुलो जल उपभोक्ता संस्थाका अध्यक्ष मानवबहादुर चौधरी नहरबाटै पानी किसानको खेतमा पुगेपछि जोखिम घटेको र आमदानी बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । “सधैँ सहजरूपमा पानी आउने स्थिति यसअघि थिएन । अब १२ महिनै पानी आउने भएको छ । रु २७ अर्ब ७० करोड २३ लाख लागत रहेको आयोजनामा रु १७ अर्ब ५६ करोड ७२ लाख नेपाल सरकार, रु नौ अर्ब ९५ करोड ५१ लाख विश्व बैंकको ऋण र रु १८ करोड उपभोक्ता समितिको लगानी भइरहेको छ । आयोजनामा हालसम्म रु १८ अर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ । आउँदो आर्थिक वर्षमा आयोजनाको समयावधि सकिनै लाग्दा पनि हालसम्म आयोजनाको करिब ६० प्रतिशत काम मात्रै सम्पन्न भएको छ । उसरी हेर्दा रानी र कुलरिया कुलोको प्रगति निकै कम छ । जमरा कुलोको प्रगति करिब ७० प्रतिशत प्रगति देखिएको छ ।







