झापा, १० मङ्सिर |
वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ ।अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उहाँकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आउनुभएका गोपाल शनिबार घर आइपुग्नुभएको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गर्नुभएका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताउनुभयो ।
“गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो।गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली रु एक लाख चार हजार एक सय ६० तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पङ्गेनीले जानकारी दिनुभयो ।विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया जानुभएको थियो । घर फर्किँदा उहाँ ३७ वर्षको भइसक्नुभयो । मलेसिया पुगेको एक सातापछि उहाँमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो । यसपछि उहाँको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो ।विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गर्नुभएको छ । उहाँले छोरा खोजिदिन पहल गरिदिनुहुने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गर्नुभएको छ ।गोपालले मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको बताउनुभयो ।यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ । आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु ।घरमा गोपालको एक छोरा पनि छन् । उहाँकी आमा सानी नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्याएर गुजारा चलाउँदै आउनुभएको छ । घरको आर्थिक स्रोतले खान लाउन नपुग्ने जनाउँदै छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा रहेको उहाँले बताउनुभयो ।