विराटनगर, १० मङ्सिर |
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पार्नुभयो ।उहाँले सांस्कृतिक एकता र सद्भावलाई ध्यानमा राखी ल्याएको यो बजेटले सुनसरी र इनरुवा सडकको स्तरोन्नति गर्ने, केशल्या करिडोरलाई व्यवस्थित गर्ने जनाउँदै बजेट भौतिक र मानव विकासमा केन्द्रित छ भन्नुभयो ।उहाँले शैलेजा हृदय केन्द्र अस्पताल निर्माण र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने बजेटको विशेषता रहेको उल्लेख गर्दै प्रदेशको राजधानी आउनसम्मका सबै बाटोलाई व्यवस्थित गर्ने दाबी गर्नुभयो ।मुख्यमन्त्री कार्कीले विराटनगरको रानीबाट सुनसरीको दुहबीसम्म ‘बाइपास’ बाटो निर्माण गर्ने जनाउँदै राजस्व बढाउन लोक कल्याणकारीका योजना सञ्चालन हुने बताउनुभयो ।उहाँले बजेट अध्यादेशबाट आए पनि सबैको मन छुने गरी ल्याएको र यसले आम नागरिकको आवश्यकता र चाहनालाई पूरा गर्ने दाबी गर्नुभयो ।








