काठमाडौँ ७ मङ्सिर |

राष्ट्रिय मानव अधिकार आयोगले संविधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुन प्रदर्शनकारीलाई आग्रह गरेको छ । बिहीबार प्रदर्शनका क्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको आन्दोलन झडपमा परिणत भएको र एमाले भ्रातृ संगठन युवा संघको कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगको भनाइ छ ।एमालेको भ्रातृ संगठन युवा संघको तीनकुनेको प्रदर्शन र दुर्गा प्रसाईं समूहको बल्खुमा आयोजित प्रदर्शनको मानव अधिकार आयोगले आयुक्त सहितको चारवटा टोलीले अनुगमन गरेको आयोगले जानकारी दिएको छ ।आयोगले भनेको छ, ‘तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको पाइएको छ । बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूहबीच झडप तथा ढुंगा र इँट्टा प्रहार भएको, प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको छ ।’

प्रदर्शन गर्ने आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न आयोगले प्रदर्शनकारीलाई आग्रह गरेको छ । ‘प्रदर्शनका कारण प्रदर्शन क्षेत्रका विद्यालयहरूमा पठनपाठन अवरुद्ध रहेको, उक्त क्षेत्रका पसलहरू बन्द हुँदा निर्बाध रुपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको र सर्वसाधारणले स्वतन्त्र र सुरक्षित रुपमा आवतजावत गर्न नपाएको हुँदा यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगको अनुगमनबाट देखिएको छ,’ आयोगले भनेको छ ।आयोगले रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा पुगी प्रहरीका उच्च पदस्थ अधिकारीहरूसँग सुरक्षा अवस्थाबारे जानकारी लिनुका साथै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here