काठमाडौं,२४,कात्तिक ।

विदेशबाट मतदाता नामावलीमा नाम दर्ता गर्न नेपाली नागरिकता नत्यागेको स्वघोषणा गर्नुपर्ने प्रावधानसहित कार्यविधि तयार भएको छ ।निर्वाचन आयोगले विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन कार्यविधि २०८० तयार पारेको छ । जसमा नेपाल बाहेक अन्य कुनै देशको स्थायी बसोबास अनुमति पत्र नलिएको समेत स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।कार्यविधिको दफा ११ र १२ मा विदेशबाट मतदाता नामावलीमा नाम दर्ता गराउने व्यक्तिले स्वघोषणा गर्नुपर्ने व्यवस्था छ । कार्यविधिमा स्वघोषणाको ढाँचा समेत उल्लेख गरिएको छ । जहाँ सात वटा विषयमा स्वघोषणा गर्नुपर्ने भनिएको छ ।स्वघोषणाको ढाँचा अनुसार पहिलो नम्बरमा आफू नेपाली नागरिक भएको र नेपालको नागरिकता त्याग गरेको तथा रद्द नभएको भन्नुपर्छ । नेपाल बाहेक अन्य कुनै देशको स्थायी बसोबास अनुमति पत्र वा नागरिकता नलिएको घोषणा दोस्रो नम्बरमा गर्नुपर्छ ।

नेपालमा कुनै गाउँपालिका वा नगरपालिकाको कुनै पनि वडाको मतदाता नामावलीमा नाम दर्ता नभएको घोषणा तेस्रो नम्बरमा गर्नुपर्छ भने चौथो नम्बरमा आफू नेपाली मूलको विदेशी नागरिक नभएको स्वघोषणा गर्नुपर्छ ।आफूसँग अवधि कायम रहेको नेपाली राहदानीको सक्कल प्रति रहेको र बसोबास गरिरहेको देशको लागि प्राप्त गरेको प्रवेशाज्ञा र श्रम स्वीकृतिको अवधि कायम रहेको पनि घोषणा गर्नुपर्छ । यसको नक्कलप्रति नै मतदाता नामावलीमा नाम दर्ता गर्दा बुझाउनुपर्ने हुन्छ ।स्वघोषणामा नागरिकता नम्बर, जारी भएको जिल्ला, स्थायी ठेगाना र नागरिकताको जारी मिति लेख्नुपर्छ । साथै, आफू बस्दै आएको देशको ठेगाना पनि उल्लेख गर्नुपर्छ ।सातौं नम्बरमा आफूले पेश गरेका विवरण कागजात सबै साँचो भएको र झुठा ठहर भएमा प्रचलित कानून बमोजिम सहन तयार रहेको भन्नुपर्छ ।निर्वाचन आयोगले पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतारसहित मलेसियामा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । त्यस अनुसार कार्यविधि तयार भएको हो ।सम्बन्धित देशको कुटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठाछाप संकलन गर्ने आयोगले जनाएको छ । आयोगका अधिकारीहरुका अनुसार कुटनीतिक नियोगकै कर्मचारीलाई तोकेर मतदाता नामावली दर्ता गर्न लगाउने र सफ्टवेयरबाट उक्त नामावली लिएर निर्वाचन आयोगले नै अन्तिम निर्णय लिने गरी कार्यविधि तय गर्न खोजिएको छ ।विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने लगायतका विषय पनि कार्यविधिमा समावेश छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here