जानकी (बाँके) २४ कात्तिक |

बाँके कारागारमा रहेका कैदी बन्दीहरुको राज्यबाट प्राप्त हुने सेवा सुविधा प्रत्यक्ष पहुँच भएको छ । आज प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा बाँकेका कैदी बन्दीलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा प्रत्यक्ष पहुँचको व्यवस्था गरिएको हो ।प्रजिअ पोखरेलका अनुसार कैदीबन्दीले आगामी दिनमा सेवा सुविधा प्रत्यक्ष रुपमा प्राप्त गर्नेछन् । कारागार व्यवस्थापन विभागअन्तर्गत बाँके कारागारमा पहिलो पटक कैदी बन्दीलाई प्रत्यक्ष रुपमा सेवासुविधा भत्ता उपलब्ध गराइएको प्रजिअ पोखरेलले बताउनुभयो । ‘‘राज्यबाट प्रदान गरिएको सेवा सुविधा बिचौलियाले दुरुपयोग गर्न नपाउन् भन्ने उद्देश्यले हामीले प्रत्यक्ष रुपमा कैदी बन्दीकै हातमा यो व्यवस्था लागू गरेका हौँ ।चौकीदार, नाइके र सहायक नाइकेमार्फत वितरण हुँदै आएको उक्त रकम पहिलो पटक प्रत्यक्ष रुपमा कैदीबन्दीले बुझेका हुन् । प्रजिअ पोखरेलले कारागार प्रशासन र कैदीबन्दीबीचको सोझो सेवा प्रवाहले चौकीदार, नाइके र सहायक नाइकेबाट प्राय हुने गरेको रकम चुहावट रोक्नका लागि यो व्यवस्था लागू गरिएको बताउनुभयो ।

सेवा सुविधाअन्तर्गत प्रत्येक दिनको रु ८० का दरले १५ दिनको एक हजार दुई सय आज प्रदान गरिएको कारागारका निमित्त नायब सुब्बा नयनबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार कारागारमा रहेका नौ सय २० जना कैदीबन्दीलाई सो रकम वितरण गरिएको हो । कैदीबन्दीले कारागारमा सिदावापत दैनिक रु ८० नगद र सात सय ग्राम चामल पाउँदै आएका छन् । कैदीबन्दीलाई जाडो र गर्मी मौसममा प्रयोग हुने लुगावापत नगद दिने व्यवस्था गरिएको छ ।सेवा सुविधा वितरण गर्न जानुभएका प्रजिअ पोखरेललाई कैदीबन्दीले आफ्ना समस्या सुनाएका थिए । उनीहरुले खाना र लत्ताकपडाको पर्याप्त सुविधा भए पनि आफूहरुलाई बस्नका लागि बास स्थान साँघुरो भएको भन्दै उपयुक्त बासको व्यवस्था गर्न माग गरेका थिए । बिरामी भएको अवस्थामा समयमा उपचार नपाएको समस्या कैदीबन्दीले सुनाएका थिए । बन्दीको समस्या सुनेपछि प्रजिअ पोखरेलले कारागार विभागसँग छलफल गरेर सम्बोधन गर्ने आश्वासन दिनुभयो ।तीन सय ५० जनाको क्षमता रहेको उक्त कारागारमा हाल नौ सय २० कैदीबन्दी बस्दै आएका छन् । उक्त कारागारमा चार सय ७५ कैदी रहेका छन् भने चार सय ४५ थुनुवा रहेका छन् । कारागार भवनमा रहेको दुई ब्लकमा कैदीबन्दी बाँडिएर बसेका छन् । एउटामा छ सय चार कैदीबन्दी रहेका छन् भने अर्को ब्लकमा तीन सय १६ कैदी बस्दै आएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागारको अवस्था जीर्ण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here