गण्डकी, २३ कात्तिक |
कास्कीको घान्द्रुक गाउँमा हिजोआज दैनिक सयौँ पर्यटक भित्रिरहेका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ यहाँका घरबास (होमस्टे) र होटलमा पाहुना भरिभराउ रहेको बताउनुहुन्छ ।अध्यक्ष गुरुङका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ होटल र १८ घरबास छन् । रैथाने संस्कृति, खानपान र पारिवारिक वातावरण रुचाउने पर्यटकको रोजाइमा घरबास पर्ने गरेको छ । सेवा र गुणस्तरअनुसार पाहुनाका लागि घरबासको छुट्टाछुट्टै प्याकेजको व्यवस्था गरिएको छ ।हिमालको काखमा पहाडेशैलीका लहरै घर । ग्रामिण परिवेश र हावापानी । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन । पाहुनाको सत्कारका लागि खुलेका घरबास । गाउँकै उब्जनीबाट बनेका परिकार घान्दु्रकमा पर्यटक लोभ्याउने बस्तु हुन् । असोज–कात्तिक नेपालको मुख्य पर्यटकीय याम हो । यहीबेला ठूला चाडबाड पर्ने भएकाले मानिस घुम्ने योजना बनाइरहेका हुन्छन् । घान्दु्रकजस्ता छोटो दूरीका गन्तव्यमा पर्यटकीय चहलपलह बढी हुन्छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यका रुपमा देशविदेशमा परिचित छ ।
बर्सेनि हजारौँ पर्यटकले यहाँ पाइला टेक्छन् । यहाँको प्रकृति र संस्कृतिमा रमाउँछन् । स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्दु्रकलाई गन्तव्य बनाउँछन् । भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक घान्द्रुक आउने गरेको अध्यक्ष गुरुङ बताउनुहुन्छ ।अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच÷छ घण्टाको पदयात्रामा घान्दु्रक पुग्न सकिन्छ । मोटरमा जाँदा एक÷डेढ घण्टामै त्यहाँ पुग्न सकिन्छ ।कास्कीकै माछापुच्छ«े गाउँपालिका–८ स्थित घरबास गाउँ ल्वाङमा पनि दसैँपछि पर्यटकको चहलपहल बाक्लिएको छ । ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङका अनुसार त्यहाँका २६ घरमा घरबास सेवा छ ।यहाँ बढी आउने आन्तरिक पर्यटक नै हो, अहिले पर्यटकीय याम चलिरहेकाले विदेशी पाहुना पनि आइरहनुभएको छ ।”पोखरादेखि नजिकको गन्तव्य भएकाले पनि ल्वाङ गाउँ पर्यटकको सहज पहुँचमा छ । प्रकृति र संस्कृतिमा रमाउनेका लागि सो गाउँ उपयुक्त मानिन्छ । गुजमुज्ज गुरुङ बस्ती । सेतो र गेरु रङ पोतिएका एकनासे घर । ढुङ्गे छाना, आँगन र बाटो । वास्तुकला झल्काउने झ्यालढोका । ससाना गल्ली, गल्छेँडा र तगारा आदि ल्वाङ गाउँका आकर्षण हुन् ।
पोखरादेखि नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।”विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि सो गाउँले पर्यटनमा फड्को मारेको हो । एकै रातमा चार सय जनासम्म पाहुना राख्ने क्षमता घरबासमा छ । कुनै पर्यटकीय याममा त दिनमै छ सयसम्म पर्यटक बसेको अनुभव घरबास सञ्चालकसँग छ ।समुन्द्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ«े, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशविदेशका अध्येता र अनुसन्धानकर्मीसमेत ल्वाङ पुग्ने गरेका छन् ।बाहिरबाट आउने पाहुनालाई गुरुङ संस्कारसहित रैथाने खानाको स्वाद चखाउने गरिएको घरबास सञ्चालक बताउँछन् । इच्छुक पर्यटकलाई करेसाबारीमा खेती गर्ने र भान्छामा परिकार बनाउने विधि पनि सिकाउने गरिएको उनीहरुको भनाइ छ । निगालोबाट बन्ने डोको, सेखुजस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ ।घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङ गाउँ अन्नपूर्ण आधार शिविर र मर्दी आधार शिविरको पदयात्रामा जाने पर्यटककोसमेत रोजाइमा पर्ने गरेको छ । पर्यटक गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न घरबासलाई रोज्छन् । पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झण्डै चार घण्टा लाग्छ । मर्दी खोलाको किनारैकिनार भिर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जादेखि खानेपानी, भेँडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ ।घान्दु्रक र ल्वाङ गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्छन् । आयोजना प्रमुख डा रबिन कडरिया ‘एक्याप’भित्रका कैयन स्थानमा घरबास सञ्चालनमा रहेको बताउनुहुन्छ । “घरबास खुलेपछि विशेष गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुगेको छ ।







