गण्डकी, २२ कात्तिक |

पोखरामा ढिलो गरी सुरु भएको विद्युतीय तार भूमिगत गर्ने कामले अहिले भने गति लिएको छ । गत वैशाखदेखि पूर्वाधार निर्माण थालिएकामा हालसम्म आयोजनाको प्रगति २५ प्रतिशत पुगेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीले बताउनुभयो । उहाँका अनुसार गत भदौसम्ममा आयोजनाको भौतिक प्रगति जम्मा पाँच प्रतिशत थियो ।कामको पूर्वयोजना र डिजाइन परिमार्जन गर्नुपर्दा पनि केही बढी समय लाग्यो ।”पोखराको चट्टानी जमिनका कारण आयोजनासँग पहिले भएको सुरुङ खन्ने उपकरणले काम नगरेपछि उच्च क्षमताको नयाँ उपकरण ल्याउनुपरेको उहाँले सुनाउनुभयो । अहिले आयोजनासँग सुरुङ खन्ने दुई उपकरण रहेको र तिहारपछि थप एउटा उपकरण ल्याइने प्रमुख इञ्जिनीयर सुवेदीले बताउनुभयो । पोखरा महानगरपालिका–१० कुँडहरचोकदेखि बुद्धचोकसम्म र लेकसाइडको गल्ली नं १५, १६ र १७ मा पाइप विछ्याउने काम भइसकेको उहाँले बताउनुभयो ।

निर्धारित समयभन्दा केही पछाडि धकेलिए पनि अब काममा ढिलाइ हुँदैन, निर्माण कम्पनी पनि यसमा प्रतिबद्ध छ ।”दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको १५ महिनापछि बल्ल आयोजनाको काम सुरु भएको थियो । इञ्जिनीयरिङ डिजाइन, उपकरण खरिदलगायतमा समय लागेकाले आयोजनाको काम सुरुदेखि नै धकेलिँदै आएको जनाइएको छ ।आयोजनालाई चाहिने तारसहित महत्वपूर्ण उपकरण भारतबाट ल्याइएको हो । पोखरा–मुग्लिन सडक आयोजनाले अनुमति नदिएका कारण पनि केही समय मुख्य राजमार्ग क्षेत्रमा तार भूमिगत गर्न समस्या भएको थियो । सुरुमा कुँडहरमा रहेको प्राधिकरणको सबस्टेशन क्षेत्रबाट तार विछ्याइने निर्माण कम्पनीका इञ्जिनीयर सुधीर पाण्डेले बताउनुभयो । उहाँका अनुसार ३० भन्दाबढी मजदुर अहिले सुरुङ निर्माण र पाइप विछ्याउने काममा खटिएका छन् । आयोजनामा मानवीय जनशक्तिभन्दा बढी यन्त्र, उपकरणमार्फत काम हुने गरेको इञ्जिनीयर पाण्डेले बताउनुभयो । आयोजनाअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेश मार्गदेखि कुँडहरचोक, अमरसिँहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो ।

मुख्यदेखि सहायक सडकसम्मै तार विछ्याइने आयोजनाले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि विछ्याइनेछ । “विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्”पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि विछ्याउन लागिएको हो ।” पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ ।पोखरा सहरभरिको तारलाई भूमिगत गर्न पाँच अर्ब बढी बजेट चाहिने आयोजना प्रमुख सुवेदीले बताउनुभयो । पोखरा र भरतपुरमा तार विछ्याउन रु दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लगाइएको थियो । दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको हो । तार विछ्य्याएपछि ग्राहकको घर–घरमा बिजुली पु¥याउने काम पनि प्राधिकरण नै गर्नेछ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार विछ््याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताउनुभयो । यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम भइरहेको उहाँको भनाइ छ । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पु¥याइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको पोखरा वितरण केन्द्रका अनुसार तार भूमिगत आयोजनाले ओगटेको क्षेत्रभन्दा बाहिरका अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाउन छुट्टै ठेक्का प्रक्रिया अगाडि बढाएको छ । विद्युत् लाइन जमिनमुनि विछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनेछ । तार भूमिगत गर्दा सहरी सौन्दर्य बढ्नुका साथै विद्युतीय दुर्घटनासमेत न्यूनीकरण हुने पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने प्राविधिक बताउँछन् । तार विछ्याउँदा ठूलो बजेट लाग्ने भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने उनीहरुको भनाइ छ । पोखरा वितरण केन्द्रअन्तर्गत विद्युत्का ९४ हजार एक सय ६५ ग्राहक छन् ।वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक सङ्ख्या हो । प्राधिकरणले सहरी सौन्दर्य बढाउन ‘उज्यालो र सहर सफाइ अभियान’ चलाइरहेको छ । सडक छेउछाउका जीर्ण र प्रयोगविहीन पोल हटाउन सुरु गरिएको छ । भूमिगत प्रणालीलाई अन्य सहरमा विस्तार गर्दै जाने योजनामा प्राधिकरण छ । काठमाडौँ उपत्यकापछि भरतपुर र पोखरामा सो परियोजना अघि बढेको हो । तारैतारले जेलिएको पोखराको सौन्दर्य फर्काउन पनि आयोजना सहयोगी बन्ने ठानिएको छ । प्रभाव र उपयोगिता हेरेर पोखराका अन्य ठाउँमा पनि तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here