सोम दियाली, सर्लाही १७ कार्तिक ।
स्वास्थ्यको क्षेत्रमा जिल्लामै पहिलो स्थान बनाएको सर्लाहीको हरिवनमा तीन दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ३२६ जनाको निःशुल्क आँखाको जाँच गरिएको छ । नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल रौतहट, हरिवन नगरपालिका र बाल पोषण योजना, आँखा उपचार केन्द्र सुखेपोखरीको संयुक्त आयोजनामा असोज १५ गतेदेखि १७ गतेसम्म शिविर सञ्चालन भएको थियो । शिविरमा आँखा जाँच गराएकामध्ये ८४ जनामा मोतियाविन्दु भेटिएको छ । ती मध्ये ७७ जनाको निःशुल्क अपरेशन गरिनुका साथै चश्मा र औषधिसमेत निःशुल्क प्रदान गरिएको हरिवन स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो । स्वास्थ्य शाखाका प्रमुख चौधरीका अनुसार शिविरमा पहिलो दिन एक सय एक जना, दोश्रो दिन एक सय पन्ध्र जना र तेश्रो दिन शुक्रबार एक सय दश जना गरी कुल ३ सय २६ जनाले आँखाको जाँच गराएका थिए । जसमा पहिलो दिन २६ जना, दोश्रो दिन ५० जना र अन्तिम दिन ८ जनामा मोतियाविन्दु फेला परेको थियो । शिविरमा गौर आँखा अस्पतालबाट आएका विशेषज्ञ डाक्टरसहित १० जनाको टोलीले विरामीहरुको आँखाको जाँच गर्नुभएको थियो । शिविरको हरिवन नगरपालिकाका नगरप्रमुख कमल बुढाथोकी र स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले निरन्तर निरीक्षण र सुवरिवेक्षण गर्नुभएको थियो । आँखा मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंग हो । आँखा नै संसार हेर्ने मुख्य अंग भएकोले यसको हेरचाह र सुरक्षामा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ । तर पछिल्लो समय धुँवा धुलोसहित बढ्दै गएको मोवाईल कम्प्युटरको प्रयोगले आँखामा समस्या आउने गरेको देखिन्छ ।