गोरखा, १६ कात्तिक : गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र करको दायरा बढाउदै लैजाने उदेश्यले व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गरेको छ । पालिकाभित्रका व्यवसायीलाई सहज हुनेगरी गाउँपालिकाले वडावडामा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । भौगोलिक हिसाबले छरिएर रहेको गाउँपालिकाले वडा नं १ र २ स्थित बारपाकबाट बुधबारदेखि शिविर सञ्चालन गर्न सुरु गरेको हो । शिविरले व्यवसायीलाई सुविधासँगै व्यवसाय सञ्चालन गरेर पनि करको दायरा बाहिर रहेका व्यवसायीलाई करको दायरामा ल्याउन र नवीकरण नगरेका व्यवसायीलाई नवीकरणका लागि प्रोत्साहन पुग्ने उहाँले बताउनुभयो । “करको दायरामा नआएकालाई करको दायरामा ल्याउन र दर्ता भएर पनि नवीकरण नगरेका व्यवसाय नवीकरण गराउदा गाउँपालिकाको राजस्व सङ्कलनमा पनि वृद्धि हुन्छ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तलुसीराम आचार्यले भन्नुभयो, “यसबाट नवीकरण गरेर व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने सचेतना पनि गाउँगाउँमा पुगेको छ । व्यवसायीलाई पालिकासम्म धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।” भौगोलिक विकटताका कारण गाउँपालिका कार्यालयसम्म आउनका लागि केही वडाबाट बासिन्दालाई समस्या रहेको उहाँले बताउनुभयो । “कार्यालयसम्म धाएर आउँदा एउटा व्यवसायीकोे रु चार÷पाँच हजारसम्म खर्च हुन्छ, उहाँले भन्नुभयो, “गाउँपालिकाले नै शिविर सञ्चालन गरेर वडावडामा पुगेपछि व्यवसायीलाई पनि सहज भएको छ ।” गाउँपालिकाको केन्द्रसम्म आउनजानका लागि सहज भएका वडाबाहेक बाँकी सबै वडामा व्यवसाय दर्ता शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो । शिविरमा आएर व्यवसाय दर्ता गर्नेलाई तत्काल नै दर्ता प्रमाणपत्रसमेत उपलब्ध गराउँदै आएको छ । व्यवसाय दर्ताका लागि पालिकासम्म आउनका लागि असहज भएको नागरिकको गुनासोसमेत रहेको थियो । गाउँपालिकाका योजना तथा प्रशासन शाखाका प्रमुख ईश्वरीप्रसाद पनेरु नेतृत्वको टोलीले शिविर सञ्चालन गरिरहेको छ । वडास्तरमै शिविर सञ्चालन भएपछि व्यवसाय दर्ता तथा नवीकरण गर्नका लागि पालिका कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।