टीकापुर (कैलाली), १ कात्तिक |

यो समय केरा किसानले उत्पादन बजारमा पठाउने हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ ।हावाहुरीले केराखेतीमा लाखौँ रुपैयाँको क्षति पुर्याएको किसानको भनाइ छ । गत असोज २९ गते वर्षासँगै आएको हावाहुरीले कैलालीमा धानबाली र केराखेतीमा क्षति भएको छ । पाँच बिघा क्षेत्रफलमा केराखेती गर्नुभएका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालेको छ । उत्पादन लिने समयमा हावाहुरीले एकैपटक क्षति पुर्याउँदा उहाँलाई निकै पीडा भएको छ ।अर्का केरा उत्पादक किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शङ्करपुर र जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको छ । उहाँको बारीमा पनि क्षति भएको छ । अर्का किसान टेकेन्द्र धामीको पनि करिब ३० प्रतिशत क्षति भएको छ । धामीका अनुसार बाहिरबाट हेर्दा त्यति होलाजस्तो छ तर भित्र पस्न पाएको छैन, अझै धेरै पनि हुनसक्छ ।केरा उत्पादक सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारूका अनुसार कैलालीमा हावाहुरीले केरामा धेरै क्षति पुर्याएको छ । त्यसमा पनि टीकापुर नगरपालिकामा बढी क्षति भएको छ । “कुनै किसानको त ७०–८० प्रतिशतसम्म पनि क्षति भएको छ ।अध्यक्ष थारूले बर्सेनि केराखेतीलाई हावाहुरीले यसरी क्षति गरिरहने भएकाले सबै केरा उत्पादक किसानलाई बाली बीमा गर्न आग्रहसमेत गर्नुभएको छ ।कैलाली जिल्लामा करिब एक हजार दुई सय हेक्टरमा केराखेती हुने गरेको छ । आठ सय हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ । सोमबार आएको हावाहुरीले नागरिकका घरमा समेत क्षति पुर्याएको छ । हावाहुरीले टीकापुर–४ मा २६ घरमा क्षति गरेको वडाध्यक्ष लालवीर चौधरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here