काठमाडौं,३ असार, (रासस) ।

आइतबार बिहान ७ बजेतिर व्यापारीहरूले कालीमाटी बजार प्रवेशको गेट, भित्री सडक र अक्सन यार्डमा गोलभेंडा फ्याँके । बिहान ३ बजे खुलेको बजारमा होलसेलमा बिक्री हुने गोलभेंडा बेचिसकेपछि बाँकी रहेको गोलभेंडा व्यापारीहरूले सडकमा मिल्काएका हुन् । कालीमाटी बजार विकास समितिका अनुसार आइतबार कालीमाटीमा फ्याँकिएका गोलभेंडा काठमाडौंकै वरपरको काँठ क्षेत्रमा उत्पादन भएका थिए । अरू बेला यहाँ कम मूल्य पाएको खण्डमा गोलभेंडा पोखरा लगायतका बजार लगिन्थ्यो । बजार विकास समितिको तथ्याङ्क अनुसार हरेक दिन २५०० क्रेट गोलभेंडा पोखरा जान्थ्यो, तर शनिबार र आइतबार त्यसतर्फ गोलभेंडा गएन । बरु सडकमा फाले, सामाजिक सञ्जालमा फोटो तथा भिडियो हाले । फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीता आचार्यले भने किसानले तरकारी फालेको दाबी गरे । किसानले उत्पादन गरेको वस्तुले मूल्य नपाएपछि बाध्य भएर सडकमा तरकारी फ्याँक्नु परेको उनको दाबी छ । ‘मूल्य नपाएपछि किसानले तरकारी फ्याँकेका हुन्’ उनले भने, ‘रामकोट, चन्द्रागिरि, थानकोट, नागार्जुन लगायत क्षेत्रमा फलेको गोलभेंडा बिक्री भएन ।’ एक हजार क्रेट गोलभेंडा पोखेको उनको दाबी छ । गोलभेंडा फ्याँक्ने कार्यमा संलग्न व्यापारी भरत खतिवडा, उत्पादकले ५ हजार क्रेट गोलभेंडा पोखेको दाबी गरे ।

विकास समितिले गरेको प्रारम्भिक अध्ययनमा भने बढीमा २०० क्रेट गोलभेंडा सडकमा फ्याँकेको देखिएको छ । समितिले सीसीटीभी फुटेजको आधारमा गरेको विश्लेषण अनुसार बाहिर गेटमा ६० क्रेट, परिसरभित्र दुई ठाउँमा गरेर १४० क्रेट गरी कुल २०० क्रेट हाराहारी गोलभेंडा फ्याँकिएको छ । सरकारी अधिकारीहरू भने आइतबार कालीमाटीमा गोलभेंडा फ्याँकिएको समयलाई लिएर सशंकित छन् । बजार खुलेको ४ घण्टासम्म बिक्री गरेका व्यापारीहरूले ७ बजेतिर गोलभेंडा फ्याँकेका थिए । गोलभेंडा फ्याँक्नेहरू कालीमाटीमा पसल तथा गोदाम गरेका र आफ्नै कृषि फार्म भएकाहरू देखिएका छन् । बजारमा शनिबार बिहानदेखि गए रातिको १२ बजेसम्म ९५ हजार किलो गोलभेंडा भित्रिएको थियो । शनिबार दिनभर र आइतबार बिहानको थोक बिक्रीपछि बचेको गोलभेंडा फ्याँकिएको हुनसक्ने सूचना अधिकारी विनय श्रेष्ठले बताए । कालीमाटी बजार विकास समितिका अनुसार खडेरीका कारण गोलभेंडाको उत्पादन बढेको छ। उच्च उत्पादनका कारण मूल्यमा गिरावट आउनु स्वाभाविक हो। ४ जेठमा कालीमाटी तरकारी बजार विकास समितिले काठमाडौं आसपास उत्पादन हुने टनेलको सानो गोलभेंडाको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ तोकेको थियो। उपभोक्ताको घरमा पुग्दा यो गोलभेंडाको मूल्य प्रतिकिलो ९५ देखि ११० रुपैयाँ थियो। समितिका अनुसार त्यो बेला दैनिक ६४ हजार ५० किलो यस्तो गोलभेंडा भित्रिने गरेको थियो।त्यसयता बजारमा गोलभेंडा बढ्यो भने मूल्य ओरालो लाग्न थाल्यो।

मागभन्दा बढी गोलभेंडा आएपछि मौज्दात रहन थाल्यो। थोक मूल्य पनि घट्यो। व्यापारीहरूले आइतबार बिहान ३ बजेको रियलटाइम मूल्य तोक्न समितिलाई दबाब दिएका थिए। तर बिहानको मूल्य अधिक हुने र त्यसले उपभोक्ता मूल्य झन् बढ्ने भएकाले मागअनुसार मूल्य तोक्न अस्वीकार गरेको बजार विकास समितिका कार्यकारी निर्देशक डोलप्रसाद पुडासैनी बताउँछन्। ‘हामीले त उपभोक्ता मूल्यलाई पनि हेर्नुपर्छ’ उनले भने, ‘हामीले अध्ययन नै नगरी बजारको मूल्यभन्दा दुई गुणा बढी उपभोक्ताको मूल्य पर्ने गरी मूल्य विश्लेषण त गर्दैनौं !’ त्यसपछि बिहान ७ बजेदेखि व्यापारीहरूकै अगुवाइमा सडकमा गोलभेंडा फाल्ने काम भयो। त्यसको असर पोखरासम्म पर्‍यो। काठमाडौंमा २०० रुपैयाँमा नबिकेको गोलभेंडा पोखरामा हजार रुपैयाँ क्रेटमा खोसाखोस भयो। व्यापारीले थोक बजार मूल्य बढाउन सरकार मातहतको समितिलाई दबाब दिइरहेका छन्। किसान आयोगका प्रतिनिधि सहभागी वार्तामा उनीहरूले बिहान ३ बजेको थोक मूल्य तोक्न बजार विकास समितिलाई दबाब दिइरहेका छन्। समितिले भने अहिले ७ बजे तरकारीको मूल्य तोक्दै आएको छ। कालीमाटी बजार विकास समितिका अनुसार अहिले भारतीय गोलभेंडाको आयात ठप्प जस्तै छ। निकै कम, त्यो पनि महिनामा एक पटक जस्तो मात्र ठूलो गोलभेंडा भारतबाट आउने गरेको समितिका सूचना अधिकारी श्रेष्ठ बताउँछन्। यति हुँदा पनि किसानले राम्रो मूल्य पाएका छैनन्। कालीमाटीकै मूल्य ८ रुपैयाँ किलो तोकिएको छ। किसानले योभन्दा निकै कम (२ रुपैयाँ) पाउने गरेका छन्। भक्तपुरको नलिनचोकमा गोलभेंडा खेती गर्ने किसान रमेश फुयाँल ठेकेदारको भरपर्दा ठूलो घाटा हुने गरेको बताउँछन्। ३५ रुपैयाँ लागत भएको गोलभेंडा ठेकेदारलाई २ रुपैयाँमा बिक्री गर्नु परेको भन्दै उनी भन्छन्, ‘दुई रुपैयाँमा के आउँछ ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here