काठमाडौँ, २१ असोज

प्रधान सेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा छ दिवसीय औपचारिक भ्रमणका लागि उहाँ बेलायत जानुभएको हो ।प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गर्नुभयो । प्रस्थान गर्नुपूर्व प्रधानसेनापतिलाई जङ्गीअड्डामा सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।बेलायतमा रहँदा प्रधान सेनापतिले वेल्स, ब्रेकनस्थित सेन्नीबृज तालिम शिविर क्षेत्रको भ्रमण गर्नाका साथै त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेयन पट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नु हुनेछ । भ्रमणका दौरान प्रधान सेनापतिको बेलायती समकक्षी जनरल स्यान्डर्ससँग शिष्टाचार भेटघाट हुनेछ ।त्यस्तै, उहाँले बेलायती सेनाका स्थल युद्ध विभागका निर्देशक रोयल कलेज अफ स्टडिज र रोयल मिलिटरी एकेडेमी स्यान्ड्रस्टका प्रमुखहरुसँग भेटघाट गर्नुका साथै गोर्खाहरुको ब्रिगेडको समेत भ्रमण गर्नुहुनेछ ।प्रधानसेनापतिको भ्रमण दलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी हुनुहुन्छ ।यसैबीच, प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बेलायत भ्रमण सकेर प्रधान सेनापति यही असोज २७ गते स्वदेश फर्कनु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here