जानकी (बाँके), १४ भदौ |
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले भेरी अस्पताल स्तरोन्तिका लागि मन्त्रालय सधैँ तयार रहेको बताउनुभयो । आज भेरी अस्पताल अवलोकनका क्रममा उहाँले यस अस्पताललाई अझै व्यवस्थित गराउन मन्त्रालयले आवश्यक बजेट छुट्याउने बताउनुभएको हो ।अस्पतालको फोहर व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापन समितिलाई निर्देशन दिँदै उहाँले एउटै व्यक्तिले लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नसक्ने भएकाले त्यस्ता व्यक्तिलाई अन्यत्र सरुवाको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिनुभयो । एउटै व्यक्ति १५, १६ वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाईएको छ । यो विषयमा व्यवस्थापन समितिलाई सचेत भएर सरुवाको प्रक्रिया अघि बढाउन म आग्रह गर्दछु । गरिब तथा विपन्न परिवारका बिरामीले सहज र सुलभ रुपमा अस्पतालमा उपचार पाउनुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रूपमा चिनिएको यस अस्पतालले बिरामीसँग नम्र र शिष्ट भएर काम गर्न पनि चिकित्सक र कर्मचारीलाई आग्रह गर्नुभयो ।







