काठमाडौं,२०,असोज ।
१९औं एसियाड अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङ आठौं भएका छन् ।फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनल चरणमा १० खेलाडीले प्रतिस्पर्धा गरेकोमा गणेश आठौं भएका हुन् ।त्यसअघि शनिबार बिहान भएको सेमिफाइनल चरण पार गर्दै गणेश फाइनल चरणमा छनोट भएका थिए ।सेमिफाइनलमा १६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा दश खेलाडी फाइनल चरणमा प्रवेश गरेका थिए । सहभागी राष्ट्रका एक एक खेलाडी फाइनल चरणमा प्रवेश गर्दा नेपालबाट सहभागि भएका एक मात्र खेलाडी गणेश पनि फाइनल चरणमा पुगेका हुन् । तर उनले आठौं स्थानमा रहेर प्रतियोगिता सकाए ।यस इभेन्टमा चीनका क्वान सिनले स्वर्ण जित्दा जापानका तानाका युकीले रजत र चाइनिज ताइपेइका उ शाओ हसुअनले कांस्य जिते ।







