गण्डकी, १० असोज |

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न वर्षौं अघिदेखि थालिएको प्रयास निरर्थक बन्दै आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणका लागि गरेको औपचारिक प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन ।पर्यटकीय राजधानी घोषणाको माग गर्दै पाँच वर्षअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारले पहिलोपटक सङ्घीय मन्त्रिपरिषद्लाई पत्राचार गरेको थियो । त्यसयता गठित कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारका पालामा पनि सो प्रस्ताव सङ्घीय सरकारमा पुगेको थियो ।पोखरा महानगपालिकाका प्रमुख धनराज आचार्यले पदभार ग्रहणपछि पहिलो निर्णय पोखरालाई पर्यटकीय राजधानी घोषणा गराउन सङ्घीय सरकारलाई प्रस्ताव पठाउने रहेको उहाँले बताउनुभयो । पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले पनि पर्यटकीय राजधानी घोषणाको माग गर्न थालेको वर्षौं भइसकेको बताएका छन् ।गत वर्ष पोखरा आएका बेला तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि प्रक्रिया अगाडि बढेको बताउनुभएको थियो । तर अहिलेसम्म उक्त प्रस्ताव सङ्घीय मन्त्रिपरिषद्मा पुग्न सकेको छैन । पोखरा कहिले पर्यटकीय राजधानी घोषणा हुन्छ ? कुनै टुङ्गो छैन ।प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटकीय राजधानी घोषणाका लागि प्रदेश आफैँ पनि सक्षम र तम्तयार रहनुपर्ने बताउनुभयो । “सङ्घीय सरकारलाई पनि झक्झाउने र हाम्रो तयारीलाई पनि अगाडि बढाउनुपर्छ।मन्त्री थापाले नीति तथा कार्यक्रममा प्रदेशको समृद्धिको पहिलो आधारका रुपमा पर्यटनलाई किटान गरिएको भए पनि सोही अनुसार बजेटको प्राथमिकता पर्न नसकेको उल्लेख गर्नुभयो । “पर्यटनमा नीति, कार्यक्रम र बजेटको तालमेल मिल्न सकेको छैन, यसलाई आगामी बजेटमा सच्याउनुपर्छ भनेर मन्त्रिपरिषद्मा मैले कुरा उठाएको छु।पोखरा विश्वमै ख्याति कमाएको पर्यटकीय गन्तव्य भएकाले गुणस्तरीय सेवा र पूर्वाधारमा ध्यान दिनुपर्नेमा मन्त्री थापाले जोड दिनुभयो । “पोखरा देशकै मुख्य पर्यटकीय गन्तव्य हो, पर्यटनबाटै अन्तरराष्ट्रियस्तरमा चिनिएको सहर पनि हो |पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा सङ्घीय सरकारले पनि सहमति दिनुपर्छ ।”

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा पूर्वाधार सम्पन्न पर्यटकीय गन्तव्य रहेकाले राजधानी घोषणाको माग गरिएको बताउनुभयो । “पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले धेरै पहिलेदेखि नै उठाउँदै आएको माग हो यो, तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।पर्यटकीय राजधानीको ओज र गरिमा धान्न पोखरा सक्षम रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य पोखरा आसपासमै रहेको उहाँले सुनाउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका खोल्न सके पोखरासँगै सिङ्गो गण्डकी प्रदेशले आर्थिक समृद्धि हासिल गर्न सक्ने अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । कैलाश मानसरोवर जाने पर्यटकलाई पनि मुस्ताङ हुँदै लैजान सकिन्छ, यो मार्ग छोटो पर्छ ।” अहिले पनि बर्सेनि भारतीयसहित हजारौँ विदेशी पर्यटक मुस्ताङ पुग्ने गरेका उहाँले बताउनुभयो ।अध्यक्ष श्रेष्ठले पोखरामात्र नभएर प्रदेशका अरू जिल्लाको पर्यटन प्रवद्र्धनमा हातेमालो गर्न पोखरेली पर्यटन व्यवसायीहरु तयार रहेको बताउनुभयो । उहाँका अनुसार साधारणदेखि पाँच तारेसम्म गरी झन्डै एक हजार दुई सय होटल पोखरामा सञ्चालित छन् ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका पूर्वप्रमुख काशीराज भण्डारीले पर्यटकीय गतिविधि, सहज पहुँच, पर्यटकीय सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानुनी संरचनालाई आधारभूत पूर्वसर्त मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने बताउनुभयो । पोखरालाई पर्यटकीय राजधानीका रुपमा स्थापित गर्न चाहिने मापदण्ड प्रयाप्त पुग्ने उहाँको दाबी थियो ।

उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पोखराका मुख्य आकर्षण हुन् । प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा भरिपूर्ण छ ।”उहाँका अनुसार परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेष्टराँ, कफी सप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा रहेका उहाँले जानकारी दिनुभयो ।हवाई र सडक दुर्व मार्गबाट सहज रुपमा पोखरा आउजाउ गर्न सकिने सुविधा रहेको बताउँदै पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतका यातायात सेवा उपलब्ध रहेका नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार यहाँ बैंक, एटिएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउन्टरका साथै सङ्कटमा परेमा पर्यटकको उद्धार र राहतका लागि हेलिकोप्ट सेवा सञ्चालित छन् ।पर्यटनका यिनै प्रचुरताका कारणले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने आवाज उठ्दै आएको त्रिपाठीको भनाइ थियो । पर्यटन व्यवसाय आतिथ्य सत्कारसँग जोडिएकाले दक्ष मानव संसाधनको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।“हाम्रा गन्तव्य स्थलहरु कति पर्यटनमैत्री र सुरक्षित छन् भन्ने विषय महत्वपूर्ण हुन्छ, पर्यटनमा रुपान्तरणकारी योजना ल्याउनुपर्छ, सरकारले लगानी बढाउनुप¥यो, पर्यटनमैत्री नीति पनि चाहियो”, त्रिपाठीले भन्नुभयो, “समृद्धिको आधार भनेर घोषणमात्र गरेर हुँदैन त्यही अनुसारको कार्यक्रम ल्याउनुपर्छ ।राज्यका निकाय, निजी क्षेत्र र समुदायको यसमा पहल चाहिन्छ ।” उहाँले पर्यटनका लागि पूर्वाधार र प्रवद्र्धन नै महत्वपूर्ण हुने बताउनुभयो ।कोभिड–१९ महामारीअघि नेपाल भित्रने विदेशी पर्यटकमध्ये झन्डै आधा पर्यटकले पोखरा घुम्ने गरेको सरकारी तथ्याङ्कले देखाउने पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here