न्यूयोर्क, ४ असोज |
नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गर्नुभएको हो । अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०÷३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ । सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसङ्घले जनाएको छ ।यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ । नेपालले उक्त सम्झौता हस्ताक्षर गर्ने दिनमा नै हस्ताक्षर गरेको छ ।








