मध्यविन्दु(नवलपरासी), २५ भदौ |
पाल्पाबाट अवैध रुपमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् ।तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।बा प्र ०१–०३–००१ च १३८६ नं को पिकअप जिपमा नौ गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।पक्राउ पर्नेमा पिकअप चालक रौतहटको गजुरा–७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ निवासी ४० वर्षीय धुव्र कार्की रहेका छन् । प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ ।घटनाको बारेमा थप अनुसन्धान भई रहेको रेग्मीले बताउनुभयो । गाई, पिकअप भ्यान र पक्राउ परेका दुई जना इलाका प्रहरी कार्यालय दुम्किबासको नियन्त्रणमा रहेका छन् ।







