मलेखु (धादिङ), २५ भदौ |
धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उहाँको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन ।आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र विद्युत्का क्षेत्रमा विकास हुँदैछ । डोको बेचेरै जीविकोपार्जन गरिरहनुभएका चेपाङको खिया लागेका जस्ताको छानो फर्ने सपना भने अझै अधुरै छ ।“पहिला डोको, भकारी जतिपनि बिक्थ्यो । चेपाङ कतिले पुख्र्याैली पेसा छाडेर विकल्प पनि खोजिसकेका भन्दै उमेरले ७० वर्ष नाघिसकेकाले पुख्यौली पेसा छाडेर कहीँ जान सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँका अनुसार डोको बिक्न छोडेपछि आम्दानीको स्रोत टुटेको छ ।डोको बुन्ने पेसाबाटै बालबच्चा हुर्काउनुभएका चेपाङलाई अहिले जीवन धान्नै मुस्किल भएको छ । “हाम्रो मात्र होइन गाउँमा सबैको मुख्य काम भनेकै डोको बुन्ने र बजारमा लगेर बिक्री गर्ने थियो । विसं २०३५ तिर डोको बुनेर बिक्री गर्दा रू दशसम्म आम्दानी हुने गरेको अनुभव चेपाङले सुनाउनुभयो । “त्यस समयमा रू दुईमा एक पाथी नून, रू छ मा एक लिटर खाने तेल पाइन्थ्यो ।उहाँकी श्रीमती तिलकुमारी चेपाङले पनि डोको र भकारी बोकेर अन्नपात साटेको अनुभव सुनाउनुभयो । “त्यतिबेला एउटा डोको साट्दा एक पाथी अन्न आउँथ्यो । पछि डेढ दुई सयमा बिक्न थाल्यो ।डोकोको आकार हेरेर रू तीन सयदेखि रू पाँच सयसम्म र खाङ्ग्रेको रू एक हजारसम्म बिक्री हुनुपर्ने नेवारबाँसका ४० वर्षीय रामबहादुर प्रजाले बताउनुभयो । निकै सस्तो मूल्यमा दिँदा पनि डोको बिक्री हुन छाडेको उहाँको भनाइ थियो ।प्रविधिको विकाससँगै डोको बुन्नेको पेसा नै सङ्कटमा परेको जीतबहादुर चेपाङले बताउनुभयो । पछिल्लो समय डोकोको प्रयोगमा नै कमी आएको उहाँको भनाइ थियो । “गाउँमा बाँस र निगालो प्रशस्त पाइन्छ । सबैले डोको बुन्न पनि जानेका छन्”, उहाँले भन्नुभयो, “अहिले गाउँमा सडक आइपुगेका छन् । मानिसले बोक्ने भारी सवारीले बोक्छन् । डोकोको प्रयोगको सट्टा अन्य प्लाष्टिकका सामग्रीको प्रयोग गर्ने धेरै छन् । यसले हाम्रो पुख्र्याैली पेसा सङ्कटमा पर्दै गएको हो ।”चौकी भञ्ज्याङ नेवारबासमा ९२ घर परिवार छन् । उनीहरुको मूख्य पुख्र्याैली पेसा डोको बुनाइ हो । तर पछिल्लो समय डोको बिक्न छाडेपछि उनीहरुले विकल्प खोज्न थालेका छन् ।








