काठमाडौं,२५,भदौ ।
गृह मन्त्रालयले १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ ।गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङलाई पठाएको छ । उनी यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थिए ।यसअघिका महानिर्देशक झलकराम अधिकारी सुन तस्करीमा संलग्न दावा छिरिङसँग सम्पर्कमा रहेको खुलेपछि गृह मन्त्रालय तानेर उनलाई अहिले सामान्य प्रशासन मनत्रलयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । अब तामाङले अध्यागमन विभागको नेतृत्व गर्नेछन् ।विपद व्यवस्थापन प्राधिकरणमा जयनारायण आचार्य पुगेका छन् । त्यसैगरी त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखमा गोगनबहादुर हमाल सरुवा भएका छन् ।गृहले चार जना प्रमुख जिल्ला अधिकारीहरु पनि फेरेको छ । रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएको छ । यसअघि ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उनले गृह प्रशासनमा पुगेलगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मौका पाएका छन् ।त्यसैगरी रामवन्धु सुवेदीलाई दाङ र शिवराम गेलाललाई महोत्तरीमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन् । सहसचिवहरु दीपककुमार पहाडी, भरतमणि पाण्डे, खगेन्द्रप्रसाद रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ ।







