ललितपुर, १८ भदौ |

ललितपुर महानगरपालिका–६ को सौगल टोलमा ऐतिहासिक ढुङ्गेधारा छ । मल्लकालीन समयको ऐतिहासिक धारा कहिले निर्माण भएको र कसले निर्माण गरेको जानकारी छैन । अझै अध्ययनको विषय छ ।सौगल टोलको ढुङ्गेधारामा पानी आइरहेको भए पनि धारासँगै लेखिएको छ, “पानी फोहर भएको कारणले नखाई दिनुहोला ।” ऐतिहासिक ढुङ्गेधाराबाट झरेको पानी दूषित भएकाले प्रयोगविहीन भएको छ । निजी धारामा पानी हप्तामा दुई दिन आउँछ । स्थानीयवासीले ट्याङ्करको पानी प्रयोग गरिरहेका छन् ।विसं २०१५ मा राजा महेन्द्रले धारालाई पुनःनिर्माण गरेपछि ढुङ्गेधारा प्रयोगमा आएको इतिहास छ । ढुङ्गेधाराको पानी पिएर हुर्केको अनुभव सुनाउनुहुन्छ सौगल टोल सुधार समितिका सल्लाहकार ८० वर्षीय बत्सगोपाल वैद्य । उहाँले भन्नुहुन्छ, “पहिले हामी ढुङ्गेधाराकै पानी प्रयोग गथ्र्यौं । अहिलेको जस्तो ट्याङ्करको पानी प्रयोग हुँदैनथ्यो । ढुङ्गेधाराको पानी पिउन र कपडा धुनका लागि टोलवासीलाई प्रशस्त पुग्थ्यो ।”

पानीको मुहानबाट नै पानी नझर्नु र बस्ती विस्तारका क्रममा राजकुलो मासिनुले पहिलेको जस्तो पानी धारामा झर्दैन । फागुनदेखि वैशाखसम्म त ढुङ्गेधारामा पानी आउन नै बन्द हुन्छ । करिब तीन महिना जति ढुङ्गेधारा सुक्खा अवस्थाामा हुन्छ । आजभन्दा केही वर्षअघि धारामा वर्षभरि निरन्तर पानी झरे पनि आजभोलि बर्खायाम सुरु भएपछि मात्र पानी झर्ने गरेको स्थानीयवासी बत्सगोपाल वैद्य बताउनुहुन्छ ।पाटन दरबार क्षेत्रको आसपासको टोलमा धेरै राणाकालीन ढुङ्गेधाराहरु छन् ती ऐतिहासिक धाराहरुमा अहिले पानी झर्दैन । सौगलको मल्लकालीन ढुङ्गेधारामा पुनःनिर्माणपछि पानी झरे पनि पानी प्रयोगविहीन छ । तीव्र रुपमा बस्ती विस्तार गर्ने क्रममा राजकुलोमा ढलको पानी मिसिएको हुनसक्ने स्थानीयवासी रवीन्द्रनारायण मानन्धर बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “ढुङ्गेधारामा मुहानबाट राजकुलो हुँदै पानी आउने हो । राजकुलोलाई व्यवस्थित गर्न नसक्दा ढल विस्तार गर्ने क्रममा ढलको पानी कुलोमा मिसिएकाले पानी दूषित आएको छ । त्यसकारणले दूषित पानी पिएर कुनै पनि व्यक्ति बिरामी नपरोस् भनेर सूचना टाँसेका छौँ ।”मल्लकालीन समयको ऐतिहासिक ढुङ्गेधारामा पानी झर्दा सौगल टोलको शोभा बढाएको छ भने पर्यटकहरुका लागि पनि ढुङ्गेधारा हेर्न पुग्नुपर्ने गन्तव्य बनेको छ । पाटन दरबार क्षेत्रमा सुन्धारालगायत धेरै धाराहरु छन् तर ती धाराको पानी पिउन मिल्दैन । ढुङ्गेधाराको पानी पिउनयोग्य बनाउनका लागि सरकारले पहल गर्नुपर्ने स्थानीयवासीको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here