भरतपुर, १६ भदौ |
चितवनको भरतपुर महानगरपालिका–२९ डुम्रेकी सुस्मिता चेपाङलाई माध्यमिक तहसम्मको अध्ययन गर्ने रहर थियो । तर गाउँको विद्यालयमा सो सुविधा नहुँदा माध्यमिक तह पढ्ने रहर अधुरै रहन्छ कि भन्ने चिन्ता पनि उत्तिकै थियो । गाउँ छाडेर सहरमा गइ पढ्न सक्ने अवस्था पनि थिएन् ।तर यतिबेला भने उहाँको चाहना पूरा हुने भएको छ । महानगरपालिकाले यस वर्षदेखि आफूले गाउँको विद्यालयमा माध्यमिक तहसम्मको पढाइ सुरु गर्ने भएपछि उहाँको पढ्नका लागि सहर जानुपर्ने बाध्यता हटेको छ ।माध्यमिक तहको पढाइ नहुँदा यहाँ पढ्ने अधिकांश विद्यार्थी ८ कक्षा पढेपछि विद्यालय छाड्न बाध्य थिए । सुस्मिताकी दिदी सृजना पनि कक्षा ८ पास गरेपछि विद्यालय छाडेर घर बस्न बाध्य हुनुभयो । आफू पढ्दै आएको विद्यालयमा कक्षा ९ मा पढ्न पाउने मध्येकी एक भाग्यमानी किशोरी बनेको उहाँ बताउनुहुन्छ । कक्षा ८ पढेपछि पढाइ नै सकिने गरेकोमा अब माध्यमिक तहको ढोका पनि खुलेको भन्दै उहाँ हर्षित हुनुहुन्छ । डुम्रेमा कक्षा ३ सम्म पढेपछि त्यसपछिका कक्षा पढ्न गाउँका सबै चौकीडाँडा आउने गरेका छन् ।
चौकीडाँडाबाट नजिकको विद्यालय जुगेडीमा रहेको कविलास राष्ट्रिय मध्यमिक विद्यालय हो । त्यहाँको दुरी करिब १७ किलोमिटर छ । जहाँ घरबाट दैनिक जान र आउन सम्भव छैन । जसका कारण विद्यार्थीले कक्षा ८ पास गरेपछि पढाइ छाड्ने गरेका थिए । अहिले भरतपुर महानगरपालिकाले कक्षा १० सम्म पढाइ सञ्चालन गर्न अनुमति दिएपछि ८ पास गरेर पढाइ छाड्नुपर्ने बाध्यता हटेको हो ।अहिले विद्यालयमा कक्षा ९ को पढाइ सञ्चालन भइरहेको प्रधानाध्यापक मुक्ति ढुङ्गानाले जानकारी दिनुभयो । कक्षा थप भएपछि ८ पास गरेर विद्यालय छाड्ने क्रम रोकिएको उहाँको भनाइ छ । “यहाँ पढेपछि कविलास र भरतपुरको बजार क्षेत्रमा नै जानुपर्छ । त्यहाँ जान यहाँका गरिब चेपाङ समुदायलाई सहज थिएन् । कक्षा ८ पास गरेपछि एकाधबाहेक सबैले विद्यालयको पढाइ छाड्थे । चौकीडाँडा नारायणगढ-मुग्लिन सडकखण्डको भोर्लेबाट करिब १० किलोमिटर दूरीमा छ । यहाँका शिक्षकलाई महानगरपालिकाले दुर्गम भत्ता मासिक रु दुई हजार दिने गरेको महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले बताउनुभयो ।यहाँ शिक्षकलाई बस्नका लागि आवासको व्यवस्था छैन । विद्यालयका शिक्षकका बस्न आवासको व्यवस्था गरिदिन शिक्षक जीवन अर्याल आग्रह गर्नुभयो । भरतपुर महानगरपालिकाले कक्षा थपेपछि भवन निर्माण गर्न लागेको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।








