कञ्चनपुर, १३ भदौ |

रैथाने आलु बाली प्रवर्द्धन गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । बेदकोट र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालीकामा रैथाने आलु बाली प्रवर्द्धनका लागि अनुदान कार्यक्रम सञ्चालन हुन लागेको हो ।केन्द्रले रैथाने आलु बालीको खेती गर्ने किसानलाई अनुदान उपलव्ध गराउनका लागि रू १० लाख बजेट विनियोजन गरेको जनाएको छ । बीउ, मलखाद, सिँचाइ र प्रविधिमा किसानलाई अनुदान उपलव्ध गराइने केन्द्रका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । उहाँका अनुसार किसान, किसान समूह, सहकारीमार्फत कार्यक्रम सञ्चालन गरिने भएको छ ।अनुदान परिचालन गरी तीनवटै पालिकामा पेस गरिएका प्रस्तावका आधारमा कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत २५ हेक्टर क्षेत्रफलमा रैथाने आलु बालीको व्यावसायिक खेती गर्ने लक्ष्य लिइएको छ ।”खानमा स्वादिलो र थोरै मेहतमै धेरै फल्ने रैथाने आलु लोपोन्मुख अवस्थमा पुगेपछि प्रवद्र्धनका लागि कार्यक्रम अगाडि बढाइएको जोशीको भनाइ थियो । “रैथाने आलुलाई स्थानीय थारु समुदायले घरैया आलु भन्ने गर्दछन् । घरैया आलुको माग बजारमा बढ्दो छ”, उहाँले भन्नुभयो ।

जोशीका अनुसार उन्नत जातका टिपिएस, कार्डिनललगायतका आलुको खेतीप्रति किसानको आकर्षण बढदै गएपछि रैथाने जातका आलु ओझेलमा पर्दै गएका छन् । थारु समुदायले पूर्खौंदेखि रैथाने आलुको खेती गर्दै आएका उहाँले बताउनुभयो ।“थोरै क्षेत्रफलमा घरैया आलु रोपिने भएकाले माग अनुरुप उत्पादन गर्न नसकिएको छैन्”, किसान कालुराम चौधरीले भन्नुभयो, “बजारमा बेच्न लैजादा हातोहात बिक्री हुन्छ । ग्राहकले माग गरे अनुरुप पुर्‍याउनै सकिदैन ।” परम्परागत रुपमा जैविक विधिको प्रयोग गरी लगाइने भएकाले स्वास्थ्यका लागि फाइदाजनक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहीने र डुढुवालगायतको रोग सहन सक्ने क्षमता भएकाले यसको माग बढेको उहाँले बताउनुभयो ।कृषि ज्ञान केन्द्रले अनुदानका कार्यक्रम सञ्चालन गरेपछि रैथाने आलु खेती गर्दै आएका किसानको मनोवल वृद्धि भएको शुक्लाफाँटा कृषि शाखाका प्रमुख करन सिंह बुढाऐरले बताउनुभयो ।विकासे आलुको तुलनामा स्थानिय जातको आलुको दाना सानो अर्थात पाँच ग्रामदेखि १० ग्रामको मात्रै हुने बुढाऐरले जमनकारी दिनुभयो । उहाँका अनुसार हाल आलु लगाउने आधुनिक प्रविधिको प्रयोग हुन थालेपछि विगतको तुलनामा दाना ठूलो उत्पादन हुन थालेका छन् ।स्थाानीय किसानका अनुसार एक कठ्ठा जग्गामा घरैया (रैथाने) आलु २० किलो बीउको एक क्विन्टल बढी उत्पादन हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here