जनकपुरधाम, १३ भदौ |

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताउनुभएको छ । सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा एमालेकोे सचिवालय बैठक हुँदैछ । सो स्थानमा विसं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा (माले) को चौँथो महाधिवेशनस्थलमा आजदेखि एमालेको सचिवालय बैठक बस्न लागेको हो ।“३४ वर्षपछि हामी सोही ऐतिहासिक स्थानमा फर्किएका छौँ, पक्कै पनि फेरि केही ऐतिहासिक निर्णय गर्दै एमालेलाई नयाँ उचाइमा पु¥याउने गरी हामी अगाडि बढ्ने छौँ । अहिलेको राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले खेलिरहेको भूमिकालाई थप प्रभावकारी बनाउन यो बैठक ऐतिहासिक महत्वको हुनेछ ।”उहाँले आफ्नो पार्टीलाई नेपालको राजनीतिमा स्थापित गराउन विष्णुपुरकट्टी सर्रेअम्बास बैठकले महत्वपूर्ण भूमिका निर्वाहको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोख्रेलले पार्टी महासचिवमा जननेता भण्डारीलाई निर्वाचित गरी एमालेलाई नेपालको महत्वपूर्ण राजनीतिक शक्तिका रुपमा स्थापित गराउन भूमिका खेलेको स्थानबाट अर्को ऐतिहासिक निर्णय गरिने विश्वास व्यक्त गर्नुभयो ।

एक अर्को प्रशंगमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्दछ भन्नुभयो । उहाँले नेकपा (एमाले) को अडानपछि सरकार सुनकाण्डको विस्तृत अध्ययनका लागि उच्चस्तरिय आयोग बनाउन तयार भएको जनाउँदै सो आयोगमार्फत सत्यतथ्य छानबिन गर्न पार्टीले सम्पूर्णरुपमा सहयोग गर्ने जानकारी दिनुभयो ।सचिवालय बैठकमा सहभागी हुन उहाँसँगै उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवाशचन्द्र नेम्वाङ, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु लेखराज भट्ट, रघुवीर महासेठलगायत नेताहरु त्यहाँ प्रस्थान हुनुभएको छ ।आज बिहान बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उहाँहरु पुनः अर्काे जहाजबाट जनकपुर आइपुग्नुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता भने विराटनगर हुँदै सिरहा पुग्ने कार्यक्रम छ । एमालेको ‘हाइकमाण्ड’ का रुपमा रहेको १९ सदस्यीय सचिवालयमा हाल १८ रहेका छन् । सचिवालय सदस्य एवं पार्टी सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अहिले निलम्बनमा छन् ।यसअघि यही भदौ ९ गतेदेखि बस्ने भनिएको सचिवालय बैठक निरन्तरको वर्षापछि स्थगित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here