कञ्चनपुर, ३ भदौ |

कृष्णपुर नगरपालिका–२ खल्लागोठ गाउँका बासिन्दालाई वर्षात्का बेला पौडी खेलेर बालबालिकालाई विद्यालय पुर्याउने झन्झट छैन । खोलामा कल्भर्ट निर्माण भएपछि खोला तर्न सहज भएको हो ।खोलामा कल्भर्ट नहँुदा स्थानीय बासिन्दाले वर्षात्का बेला निकै सास्ती खेप्दै आएका थिए । यस क्षेत्रकै पुरानो बस्ती र पूर्व–पश्चिम राजमार्गभन्दा झन्डै एक किलोमिटरको दूरीमा रहेको भए पनि दुर्गमजस्तै थियो, कल्भर्ट निर्माणले जीवनयापन सहज बनेको छ । बालबालिकालाई विद्यालय पुर्याउन खोला तर्नका लागि अभिभावक सँगै जानुपर्ने विगतको बाध्यता हटेर गएको उहाँले बताउनुभयो । “गाउँमा कोही आकस्मिकरूपमा बिरामी भए, सुत्केरी हुने महिलालाई अस्पताल पुर्याउनुपरे निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो खोलाको बाढीको पानी कम भएपछि खोला तरेर अस्पतालसम्म पुर्याउँथ्यौ, तुरुन्तै लैजानुपर्ने भए जोखिम मोलेर बाढी आएकै खोला तरेर अस्पताल पुग्नुपर्ने हुन्थ्यो । वर्षात् सुरु हुनुअगावै बजारबाट खरिद गर्नुपर्ने खाद्यान्नलगायतका सामग्रीको जोहो मिलाउनुपर्ने विगतको बाध्यता हटेर गएको उहाँले उल्लेख गर्नुभयो । अब ती दिन विगत भइसकेको उल्लेख गर्दै उहाँले कल्भर्ट निर्माणले आवागमनलाई सहज बनाएको बताउनुभयो ।खल्लागोठ गाउँलाई पूर्वतर्फबाट मछेली नदी र पश्चिमतर्फबाट ओदरेखोलाले घेरेको छ । उत्तरतर्फ सामुदायिक वन छ । जङ्गली हात्ती गाउँ पसे भाग्न सक्ने अवस्था थिएन, कल्भर्ट निर्माण भएपछि सहजरूपमा सुरक्षित स्थानमा जान सक्ने भएका छौँ ।

कल्भर्ट निर्माणले आवागमनलाई मात्रै सहज बनाएको नभएर गाउँलाई नै सुरक्षित गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष अर्जुन साउदले खल्लागोठलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाएको बताउनुभयो । “पूर्व–पश्चिम राजमार्गबाट नजिकैको गाउँ भए पनि खोलाका कारण दुर्गमजस्तै थियो”, उहाँले भन्नुभयो, “प्रत्येक चुनावका बेला खोलामा कल्भर्ट निर्माणका लागि माटो परीक्षण गर्ने, डिपिआर बनेको घोषणा हुन्थ्यो, काम हुँदैनथ्यो, खोलामा कल्भर्ट निर्माणका लागि बजेट पनि राखिन्थ्यो तर कार्य नभएर फिर्ता (फ्रिज) जाने गरेको थियो ।विगतको जस्तो वर्षात्का बेला खोला तर्न नसकेर सुत्केरी आमा र गम्भीर बिरामीले ज्यान गुमाउनु पर्दैन, अभिभावकले विद्यालय गएका बालबालिकालाई खोला तार्नका लागि डिलमा बस्नुपर्ने अवस्था अब छैन । पहिलो वर्ष खोलामा कल्भर्ट निर्माण गरिएको उल्लेख गर्नुहुँदै उहाँले अर्को वर्ष तटबन्ध निर्माण र खानेपानीमा जोड दिइने बताउनुभयो । तटबन्ध निर्माणका लागि पहल गरी प्रदेश सरकारबाट रु दुई करोड बजेट ल्याउन सफल भएको उहाँले जानकारी दिनुभयो । खानेपानीका लागि पाइप बिछ्याउने कार्य अगाडि बढाइएको उहाँले भन्नुभयो ।

नगरपालिकाका विपद् शाखाका प्रमुख प्रेम बोगटीका अनुसार खोलामा रु ५० लाखको लागतमा कल्भर्ट निर्माण गरेको छ । नगरपालिकाको लगानीमा उपभोक्ता समितिमार्फत कल्भर्ट निर्माण गरिएको छ । कल्भर्ट निर्माणमा स्थानीय बासिन्दाले रु नौ लाख ४० हजार सात सय २० बराबरको श्रमदान गरेका छन् । “पहिला कल्भर्ट, पुल पुलेसालगायतका संरचना ठेक्का प्रक्रियामार्फत हँुदै आएकामा नगरपालिकाले पहिलोपटक उपभोक्ता समितिमार्फत गुणस्तीय कार्य गरेको छ, कल्भर्ट निर्माणसँगै तारजालीको तटबन्धसमेत बनाइएको छ । स्थानीय बूढापाकाका अनुसार खल्लागोठ गाउँमा बस्ती बस्न विसं १९९५ देखि नै सुरु भएको हो । पहिला वस्तुभाउ चराउनका लागि पहाडबाट हिउँदका बेला डडेल्धुरा, डोटीलगायतका क्षेत्रबाट गोठाला यस क्षेत्रमा आउने गरेका थिए । गर्मीयाम सुरु हुनुअगावै वस्तुभाउ लगेर पहाड उक्लिन्थे । तराईमा औलो उन्मूलन भएपछि स्थायीरूपमा यस क्षेत्रमा बस्ती बसेको बताइन्छ । पुरानो गाउँ भए पनि यो क्षेत्र विकासमा भने पछाडि परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here