तुलसीपुर, २६ साउन (रासस) |
दाङको तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गा उपयोग कार्ड वितरण सुरुआत गरेको छ । सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त कार्ड वितरण गर्न लागिएको उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले बताउनुभयो । “वडा नं ११ मा हामीले सुरु गरेका छौँ, अन्य वडामा पनि सुरु भइरहेको छ यो अभियान तीव्रताका साथ अघि बढाएका छौँ । हालसम्म ऐलानी जग्गामा बसोबास गर्नेको तथ्याङ्क छैन । अब यो कार्यक्रमले पूर्णता पाएमा कति ऐलानी जग्गामा कति परिवार बसेको भन्ने कुरा यकिन उहाँले बताउनुभयो । त्यस्तै अव्यवस्थित बसोबासी, वास्तविक तथा विपन्न दलित सुकुम्बासी पनि पत्ता लाग्ने उहाँले बताउनुभयो । वडाबाट सबै ऐलानीमा बसोबास गर्नेलाई कार्ड दिइसकेपछि अमिन आएर नापजाँच गर्ने उहाँले बताउनुभयो । अमिनले नापजाँच गरेपछि पुर्जा वितरणको काम अघि बढ्ने बताउनुभयो । यो कार्यक्रम तुलसीपुरका १९ वटै वडाबाट सुरु भएको छ । यो कार्य सक्न करिब छ महिनाको समय लाग्न सक्ने उहाँले बताउनुभयो । यसले उपमहानगरपालिकाको सुकुम्बासी समस्या समाधान हुने अपेक्षा लिइएको छ । प्राथमिकताको आधारमा लालपुर्जा वितरण गर्नका लागि पनि यो कार्य गरिएको हो ।








