काठमाडौँ, २६ साउन (रासस) |
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरुपण हुने बताउनुभयो । सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुनेसमेत मन्त्री बस्नेतको भनाइ छ । आन्तरिक लगानीकर्तालाई प्रवर्द्धन गरेमात्रै विदेशी लगानी पनि भित्र्याउन सकिन्छ । हामीलाई थप लगानी चाहिएको छ । त्यसका लागि कानुनी तथा नीतिगत प्रबन्ध गर्न लागिएको छ ।उहाँले आन्तरिकरुपमा पनि नदी करिडोरलाई केन्द्रमा राखेर चार सय केभी क्षमताका छ वटा प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र त्यसले केही समयभित्रै सार्थकता पाउने बताउनुभयो । ऊर्जामन्त्री बस्नेतले निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारमा सहभागी गराउने उद्देश्यका साथ सरकारले नीतिगत प्रबन्ध गर्न लागेको स्पष्ट पार्नुभयो । उत्पादन, वितरण र प्रसारणलाई एकीकृतरुपमा अगाडि बढाउने उद्देश्यका साथ सरकारले एकीकृत कार्ययोजना बनाएर काम थालिसकेको जानकारी दिँदै उहाँले आफूहरुको जोड आन्तरिकरुपमा बिजुलीको खपत बढाउने नै भएको बताउनुभयो । आन्तरिकरुपमा खपत गरेर बढी भएको बिजुली मात्रै निकासी गर्ने सोचका साथ सरकारले काम गरिरहेको मन्त्री बस्नेतको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा भएको सहमतिअनुसार १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी विषयले समेत छिट्टै सार्थकता पाउने उहाँको भनाइ छ ।
यस्तै, बङ्गलादेशसँग पनि बिजुली निर्यातका लागि छिट्टै सम्झौतामा हस्ताक्षर हुने उहाँको भनाइ छ । बङ्गलादेशले तत्काल नै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । उहाँले निजी क्षेत्रलाई पूर्णरुपमा साथमा लिएर नै सरकार अगाडि बढ्न लागेको र सरकार, निजी साझेदारीलाई थप परिस्कृत कार्ययोजनाका साथ अगाडि बढ्ने बताउनुभयो । निजी क्षेत्रको प्रवेशपछि ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको विषयमा आफू जानकार भएकाले थप लगानीका लागि आग्रह गर्नुभयो ।उहाँले केही आयोजनामा आवश्यक पर्दा मात्र नेपाल विद्युत् प्राधिकरणले बिजुली लिएको भन्ने निजी क्षेत्रको गुनासो सम्बोधन गर्न सम्बद्ध निकायसँग छलफल गर्ने स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले विराटनगर, विरगञ्जलगायतका औद्योगिक क्षेत्रमा देखिएको बिजुलीको समस्या समाधान गर्न आफू तत्पर रहेको उल्लेख गर्नुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्ने गरेकोले सबै उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताउनुभयो । दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेको उहाँको भनाइ छ । अध्यक्ष ढकालले निजी क्षेत्रलाई लगानीका लागि सरकारले उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रह गर्नुभयो ।यस्तै, उद्योगी व्यवसायीले भोल्टेजको समस्या भोगेको तथा पटकपटक बत्ती काटिदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न अध्यक्ष ढकालले आग्रह गर्नुभयो । अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउनका लागि निजी क्षेत्रले सार्थक पहल गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले मन्त्री बस्नेतलाई ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापनपत्रसमेत बुझाउनुभएको थियो ।







