भक्तपुर, ८ साउन (रासस) |
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउनको सोमबार मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । मन्दिरमा सर्वसाधारणसँगै उच्च पदस्थ व्यक्तित्वको समेत आगमन बढेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।डोलेश्वरको दर्शन एवं पूजापछि श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीले मन्दिर परिसरको अवलोकनका गर्नुभएको छ । उहाँले मन्दिरमा निर्माण भएका विभिन्न संरचना र आश्रमको अवलोकन गर्नुभएको वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो ।
यही साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३८ दिने श्रावणी मेलाको अवसरमा मन्दिर आउनु भएका मन्त्री भण्डारीले डोलेश्वरले धार्मिक पर्यटनको विकासमा टेवा पु¥याएको बताउनुभएको थियो । उहाँले यहाँका विभिन्न संरचनाका बारेमा चासो दिनुभएको थियो ।मन्दिरमा आज बागमती प्रदेशसभाका उपसभामुख अपसरा चापागाई खत्रीले पनि अवलोकन गर्नुभएको छ । त्यस्तै पूर्वमन्त्री राजेन्द्र महतो, बागमती प्रदेशका वनमन्त्री मसिना खड्का, बागमती प्रदेशसभाका सदस्य किरण थापा, सुरेश श्रेष्ठ, पूर्वसदस्य शशीजङ्ग थापालगायतले मन्दिरको विकासमा तीन तहकै सरकारले पु¥याएको योगदानबारे जानकारी लिनुभएको थियो ।आज बिहानैदेखि डोलेश्वरमा दर्शनार्थीको भीड लागेको बताउँदै समितिका अध्यक्ष बस्नेतले मेला भर्न आएका दर्शनार्थीलाई आधा घण्टामै दर्शन गर्ने गरी व्यवस्था गरिएको र स्वयंसेवक परिचालन गरिएको बताउनुभयो ।आजै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि दशनार्थीको भीड लागेको छ । मनोकाङ्क्षा पूरा गर्ने मन्दिरको रुपमा लिइने यस मन्दिरमा दर्शन एवं पूजा गर्न दर्शनार्थीका भीड लागेको हो । त्यस्तै दत्तात्रय मन्दिर, गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, नन्दिकेश्वर, लटरम्मेश्वर, सुवर्णेश्वर, कैलाशेश्वर, चरखण्डीश्वरलगायतका मन्दिरमा भव्य मेला लागेको छ ।








