हेटौँडा,२५ मंसिर ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिने भएको छ ।

कार्यक्रम देशभरिका महासंघका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू हुने गरी सबैभन्दा पहिलोपटक गर्न लागिएको बताइएको छ । पत्रकार महासंघ मकवानपुर शाखाका अनुसार कार्यसमिति बैठकबाट ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि २०७७ पास गर्दै प्रतिपत्रकार मासिक ४ हजार रुपैयाँको दरले पेन्सन दिनका लागि थप प्रक्रिया कार्य अघि बढाइएको हो ।

पेन्सन दिनका लागि यसअगावै हेटौंडा उपमहानगरपालिकाले कोषमा १० लाख रुपैयाँ उपलब्ध गराइसकको छ । उक्त रकम पत्रकार महासंघ मकवानपुर शाखाले वाणिज्य बैंकमा यसअघि नै खोलिएको खातामा जम्मा गरिएको छ । बैंकमा यसअघि मुद्दति खातामा रहेको २ लाख रुपैयाँ समेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको १० लाख रुपैयाँको ब्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए । पेन्सनसम्बन्धी कार्यविधिलाई महासंघको मंसिर २६ गतेको साधारणसभाले पारित गर्नेछ ।

महासंघ मकवानपुर शाखामा आबद्ध सदस्यमध्ये ज्येष्ठ सदस्यको वृत्तिविकास गर्नका लागि पेन्सन दिन लागिएको हो । लगातार कम्तीमा २० वर्ष मुख्य पेशा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन लागिएको हो ।

राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनै पनि संघसंस्था, गैरसरकारी संस्थाबाट सेवासुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईंले बताए ।

ज्येष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निवेदन र कागजपत्रका आधारमा सिफारिस गरिने छ । सिफारिसका लागि पत्रकार महासंघ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्षमध्येबाट १ जना सदस्य र पत्रकार महासंघ मकवानपुरको वर्तमान अध्यक्ष सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था गरिएको छ ।

मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरेमा वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनका लागि सोको जानकारी एकाघरको सदस्यले महासंघ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम बनाइएको छ । मासिक पेन्सन वृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वा महासंघको जानकारीमा आएमा लगतकट्टा गरिने महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले बताए ।

पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासंघ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पूरा भएको हुनुपर्ने, निरन्तर २० वर्ष पत्रकारितालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनीमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेरपछि सक्रिय पत्रकारिता छोडेर विश्राम लिएको हुनुपर्ने उनले बताए ।

पेन्सन कोषको सञ्चालन महासंघ मकवानपुर शाखाले विभिन्न सरकारी वा अर्धसरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ति संघ, सस्था, उद्योग प्रतिष्ठानबाट प्राप्त रकम कोषमा राखिने छ ।

नेपाल पत्रकार महासंघ मकवानुर शाखामा हाल १०३ जना साधारण सदस्य छन् भने यस वर्ष ६० जनालाई नयाँ सदस्यता वितरणका लागि लागि प्रदेश महासंघमा सिफारिस गरिएको शाखाले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here