काठमाडौं , १६ फागुन ।
नेपाली काँग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताउनुभएको छ ।
मंगलवार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा डिजिटल प्रणाली शुरुवात गरेपनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्षम
नरहेको बताउनु भयो । उहाँले नेपाली सेनाको डेटाहरु आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरु चोरी हुने खतरा रहेको उल्लेख गर्नुभयो ।हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीहरुले थप अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त ग¥यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनैपनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’
त्यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले नेबिसंघको अबको एजेण्डा शैक्षिक, सामाजिक, युवाहरुलाई उद्यमशील बनाउने, नेपालमै युवाहरुलाई टिकाउने र जलवायु परिवर्तनको एजेण्डामा केन्द्रित रहेको बताउनु भयो ।
उहाँले नेपालले साइबर सुरक्षाका लागि आफ्नै किसिमको अध्ययन र अनसन्धान गरी आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको बताउनु भयो ।







