काठमाडौं,१६ फागुन ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफुहरु सरकारबाट नबाहिरिने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताउनुभएको हो । अन्य पार्टीहरु आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै उहाँले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताउनु भयो । उहाँले माओवादी केन्द्रकै नेतृत्वमा सरकार
रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताउनु भयो । सरकारमा सामेल भएका दलहरु फेरिने भएपनि सरकार नफेरिने उहाँको भनाई छ ।
जनमत पार्टी सरकारमा यथावत रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन जसले सरकार बाहिर आउनु परोस् भन्ने परिस्थिति बनेको छैन । सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको । अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो । जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ । यो भन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो । अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ । सरकार कहाँ बदलिएको छ त ? सरकारमा सामेल भएका दलहरु फेरिएका । सरकार फेरिएको छैन । सरकार बदलिएको होइन । हामी त्यही भएर सरकारमा यथावत छौँ ।’
अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भुमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै उहाँले सोही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताउनु भयो । जनमत पार्टी राष्ट्रपति र
सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उहाँले बताउनु भयो । राष्ट्रपति र सभामुख एउटै दलको भएमा निरंकुशता जन्मिने सक्ने उहाँको तर्क छ । आगामी राष्ट्रपतिले संसदबाट पारित भएका
विधेयकहरुलाई उदारतापूर्वक प्रमाणिकरण गर्नुपर्ने उहाँले बताउनु भयो ।उहाँले नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन
फिर्ता हुनसक्ने बताउनु भयो । यद्यपी यी मागहरु पूरा गर्नका लागि सरकारलाई समय भने दिइने बताउनु भयो ।








