काठमाडौँ, १४ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन कतार जानु हुने भएको छ । परराष्ट्र मन्त्रालयले आईतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्नु हुने बताउनु भयो ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले सो सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि प्रधानमन्त्री दाहालले द्धिपक्षीय भेटवार्ता गर्नु हुने कार्यक्रम तय गरिएको छ । नेपाली दुतावास र त्यहाँस्थित नेपाली समूदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रवक्ता लम्सालले भन्नु भयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अतिकम विकसित राष्ट्रहरुको पाँचौ सम्मेलन दोहामा हुँदैछ । सम्माननीय प्रधानमन्त्रीज्यू चाँही मार्चको ३ तारिकमा काठमाडौंबाट प्रस्थान गरेर दोहाबाट ६ तारिक फर्कने गरी कार्यक्रम तय गरिएको छ ।
त्यो शिलशिलामा नेपाली प्रतिनिधिमण्डलको नेताको हिसावले सम्माननीय प्रधानमन्त्रीज्यूले गर्ने तय भएको कार्यक्रमहरु युएनले नै बनाएका केही कार्यक्रमहरु छन । त्यो प्रोग्राममा प्रोटोकल अनुसारको सम्माननीय प्रधानमन्त्रीज्यूको सहभागिता हामीले सुनिश्चित गरेका छौं । केही चाँही द्धिपक्षीय छलफलहरु पनि हुनेछन । साईड इभेन्टहरु पनि धेरै छन । त्यसमा पनि भाग लिन्छौं । र, नेपाली कम्युनिटीसँग पनि एउटा प्रोग्राम गर्ने कार्यक्रम अहिलेसम्मको हिसावले तय भएको छ । यी सबै कुरा पछि हाम्रो प्रेस रिलिजमा पनि आउनेछ । त्यहाँको नेपाली दुतावासमा पनि एउटा कार्यक्रम हुने तय भएको छ ।’
४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गतेस्वदेश फर्कनु हुनेछ । प्रधानमन्त्री दाहालसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनुहुनेछ ।








