जनकपुर, १३ फागुन ।
जनकपुरधाममा घाटमा जलाउन लगिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको शमशान घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा बस्दै आएकी ३५ वर्षीया सुनिता कार्कीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
श्रीमानले कुटपिट गरेर हत्या गरेको कार्कीको माइती पक्षको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि मृतकको शव नियन्त्रणमा लिएको जनाइएको छ । मृतक महिलाको शरिरमा चोट र निलडाम देखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले घाटमा जलाउन लगेको एक महिलाको शव प्रहरीले उजुरीका आधारमा नियन्त्रणमा लिएको जानकारी दिए ।
सुनितालाई उनका श्रीमान शेखर बहादुर कार्कीले कुटपिट गरेर मारेको भन्ने उजुरीका आधारमा प्रहरीले घटनाको जाँचबुझका लागि मृतकको शव नियन्त्रणमा लिएको उनले बताए ।प्रहरीले घटनामा संलग्न रहेको आशंकामा मृतकका श्रीमान जनकपुरधाम–४ बस्ने ४५ वर्षीय शेखर कार्की र २० वर्षीय सागर साहलाई पक्राउ गरेको छ । पक्राउ परेका दुबैजना कवाडको काम गर्ने मजदुर हुन् ।मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।








